वीर अस्पतालमा ‘एनोरिज्म’को जटिल शल्यक्रिया
काठमाडौँ, असोज २६ । वीर अस्पतालले चिकित्सा क्षेत्रमा एक महत्वपूर्ण सफलता हासिल गरेको छ । अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख डा. राजीव झाको नेतृत्वमा एक बिरामीको मस्तिष्कमा रहेका ६ वटा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने रोग) को एकैपटक नौ घण्टा लामो जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । डा. झाका अनुसार, एकै व्यक्तिमा यति धेरै एनोरिज्म हुनु दुर्लभ हो र यसको एकैपटक सफल शल्यक्रिया नेपालमा पहिलो पटक भएको हो ।
शल्यक्रिया गरिएको बिरामीको मस्तिष्कमा रहेको एउटा एनोरिज्म फुटिसकेको थियो भने अन्य पाँचवटा फुट्ने अवस्थामा थिए । “हाम्रो टोलीले नौ घण्टा लगाएर उक्त एनोरिज्मलाई शल्यक्रियामार्फत उपचार गर्न सफल भयौँ,” डा. झाले बताउनुभयो। उहाँका अनुसार, फुटेको एनोरिज्मलाई बेलुनजस्तै बाँधेर राखिएको छ र अरू फुट्न तयारी रहेकालाई क्लिप लगाएर फुट्नबाट जोगाइएको छ । एनोरिज्ममा मस्तिष्कका रक्तनलीहरू बेलुनजस्तै फुल्छन् र फुट्न सक्छन्, जसले ब्रेन ह्यामरेज गराउन सक्छ र तत्काल मृत्युसमेत हुन सक्छ । डा. झाका अनुसार, एनोरिज्म फुटेकामध्ये ५० प्रतिशत बिरामी मात्र अस्पताल पुग्छन् र तीमध्ये पनि ५० प्रतिशत मात्र उपचार पाएर बाँच्छन् ।
यसअघि पनि डा. झाले ४ वटा एनोरिज्म भएका बिरामीहरूको सफलतापूर्वक उपचार गरिसक्नुभएको थियो । यस जटिल शल्यक्रियाले वीर अस्पतालको न्युरो सर्जरी विभागको क्षमतालाई थप प्रमाणित गरेको छ । एनोरिज्मका मुख्य कारणहरूमा चुरोट र मादक पदार्थ सेवन, उच्च रक्तचाप र मधुमेह पर्छन् । वीर अस्पतालमा बर्सेनि सयभन्दा बढी एनोरिज्म फुटेका बिरामीहरू आउने गर्छन्। हाल शल्यक्रिया गरिएका बिरामीको अवस्था सामान्य भइसकेको अस्पतालले जनाएको छ ।