ललितपुरको झल्को दिने स्मारक चन्दननाथमा निर्माण : ललितपुर महानगरपालिकाको सहयोग
काठमाडौँ, असोज २८ । ललितपुर महानगरपालिकाले जुम्लाको चन्दननाथ नगरपालिका-५ मा पुरातात्विक शैलीमा गणेश मन्दिर निर्माण गरेको छ । ललितपुर महानगरको आर्थिक सहयोगमा निर्मित यो मन्दिरको उद्घाटन गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन जुम्ला पुग्नुभएको थियो ।
नगरप्रमुख महर्जनले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक सम्पदा संरक्षणको आवश्यकता औँल्याउनुभयो । उहाँले चन्दननाथमा निर्मित गणेश मन्दिरले ललितपुरका मन्दिरहरूको झल्को दिने गरी निर्माण गरिएको बताउनुभयो । चन्दननाथका पुराना सम्पदाहरूको संरक्षणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो ।
ललितपुर महानगरले यस गणेश मन्दिर निर्माणका लागि ३५ लाख रुपैयाँ सहयोग गरेको छ । चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतका अनुसार, मन्दिरको कुल लागत १९ लाख ७५ हजार रुपैयाँ रहेको छ । बाँकी रकम मन्दिरको प्रवेशद्वार निर्माणमा खर्च गरिनेछ । गणेशको मूर्ति बनाउनका लागि आवश्यक ढुङ्गा खोकनाबाट ल्याइएको थियो भने मन्दिर निर्माणको जिम्मा ललितपुरकै कालीगढहरूलाई दिइएको थियो । यो मन्दिर सदरमुकाम खलङ्गाको मुख्य बजार क्षेत्रमा अवस्थित छ ।
ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच तीन वर्षअघि भगिनी सम्बन्ध कायम भएको थियो । भगिनी सम्बन्ध कायम भएका पालिकाहरूको विकासमा साझेदारीका लागि ललितपुर महानगरले विभिन्न परियोजनाहरू अघि बढाएको छ ।
मन्दिर उद्घाटनका लागि नगरप्रमुख महर्जनसँगै ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका निर्देशक देवप्रसाद गुरागाईं र वडा नं. २८ का अध्यक्ष वीरेन्द्र महर्जनसहितको टोली जुम्ला पुगेको थियो ।