राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि एमाले पहिलाे विकल्प : बादल

काठमाडौं, ३ मङ्सिर । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा विभिन्न शक्तिबीचको भीषण सङ्घर्ष हुने बताउँदै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि एमाले पहिलाे विकल्प भएकाे बताउनुभएकाे छ ।

पार्टीले राजधानीमा मङ्सिर २ र ३ गते आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई बुधबार सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको विकल्प एमाले मात्र भएकाे बताउनुभएकाे हाे ।

केन्द्रीय कमिटीले निर्धारण गरेका ‘दुई कार्यभार र पन्ध्र काम’को लक्ष्य हासिल गर्न आवश्यक तयारीमा जुट्नु राष्ट्रिय भेलाको प्रमुख उद्देश्य रहेको उहाँको भनाइ थियो । उहाँले राष्ट्रिय भेलालाई पार्टीभित्र नयाँ आधारमा नयाँ एकता र नयाँ सङ्कल्पको ठोस अभिव्यक्तिका रूपमा व्याख्या गर्दै त्यसप्रति ऐक्यबद्धता जनाउनुभयो ।

पार्टी संसदीय दलका नेतासमेत रहनुभएका थापाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारी गर्दा गत फागुन २१ गते सम्पन्न निर्वाचनको पार्टीले गरेको समीक्षा र त्यसबाट प्राप्त निष्कर्षलाई आधार बनाउनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न पार्टी पुनर्निर्माण गर्ने, राष्ट्रियता तथा लोकतन्त्रको पक्षमा राजनीतिक आन्दोलनको तयारी गर्ने, आगामी निर्वाचनमा लोकतन्त्रको विजयका लागि पूर्वतयारी गर्ने, संविधान रक्षाका लागि कानुनी सङ्घर्ष गर्ने तथा जनतासँग प्रत्यक्ष संवादमार्फत जनसम्बन्ध विस्तार र सुदृढ गर्ने निर्णय गरेको छ ।

आगामी वर्ष निर्वाचन वर्ष भएकाले पालिका, प्रदेश र राष्ट्रिय सभाका निर्वाचन लोकतान्त्रिक शक्तिका लागि असामान्य परिस्थितिमा हुन लागेको उहाँले बताउनुभयो । गत फागुनको निर्वाचन परिणाम दोहोरिने वा त्यसमा क्रमभङ्ग हुने भन्ने विषय अहिलेको प्रमुख राजनीतिक प्रश्न रहेको उहाँको भनाइ थियो ।

विगतको निर्वाचनलाई पपुलिस्ट तथा फासीवादी शक्ति र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिबीचको भीषण सङ्घर्षका रूपमा चित्रण गर्दै थापाले आगामी निर्वाचनमा पनि यस्तै शक्ति सङ्घर्ष हुने दाबी गर्नुभयो ।

फासीवादी तथा पपुलिस्ट शक्तिहरूले आफ्नो एकाधिकार कायम राख्न खोजेको र बाह्य शक्तिहरूले आफ्नो स्वार्थपूर्तिका लागि कठपुतलीलाई विजयी गराउन चाहेको आरोप लगाउँदै उहाँले आगामी निर्वाचन सामान्य नहुने बताउनुभयो ।

निर्वाचनमा सफलता हासिल गर्न चिनियाँ रणनीतिकार सुन जुको ‘आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ’ भन्ने भनाइलाई आत्मसात् गर्नुपर्ने उहाँको धारणा थियो । यसका लागि पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गत निर्वाचनमा पार्टीले गरेका कमजोरी औँल्याउँदै थापाले प्रमुख प्रतिद्वन्द्वी पहिचान गर्न नसक्नु, आफ्ना कमजोरीको सही मूल्याङ्कन नगर्नु, प्रतिद्वन्द्वीविरुद्ध परस्पर सहकार्य गर्न नसक्नु, आन्तरिक एकता कायम गर्न नसक्नु र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसक्नु पराजयका प्रमुख कारण रहेको बताउनुभयो ।

‘सङ्घर्षमा नीति, नेतृत्व र जनता नै विजयका मुख्य आधार हुन्,’ उहाँले भन्नुभयो ।

आगामी निर्वाचनमा सफलता हासिल गर्न जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने, राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्ने र नेतृत्वको वरिपरि गोलबन्द हुनुपर्ने उहाँको भनाइ थियो ।

केन्द्रीय कमिटीले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरी सही निष्कर्ष निकालेको उल्लेख गर्दै उहाँले त्यसको दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । खपछिल्लो राजनीतिक तथा भूराजनीतिक अवस्थाबारे चर्चा गर्दै थापाले अन्तर्राष्ट्रिय शक्तिबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको, लोकतान्त्रिक शक्तिबीच सहकार्य बढिरहेको र जनतामा व्याप्त एल्गोरिदमको भ्रम क्रमशः हट्दै गएको दाबी गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *