पर्वत अस्पतालमा बिरामीको चाप अत्यधिक, शय्या अभावमा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता
पर्वत, २९ असोज। जाडो याम सुरु भएसँगै पर्वतको प्रदेश अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ।
बिरामीको चाप अत्यधिक बढेपछि अस्पतालमा शय्या अभाव भएको छ, जसका कारण कतिपय बिरामीलाई आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।
पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाका अनुसार, उपचारका लागि आउने अधिकांश बिरामी भर्ना नै गर्नुपर्ने किसिमका छन्। पछिल्ला केही दिनयता ‘जनरल वार्ड’का शय्याहरू भरिएपछि भर्ना गर्नुपर्ने बिरामीलाई समेत आकस्मिक उपचारका लागि छुट्याइएका शय्यामा राखिएको छ।
डा. बाँस्तोलाले दैनिक ३५० जनाभन्दा बढी बिरामीको ओपिडी र इमर्जेन्सी कक्षमा उपचार भइरहेको जानकारी दिए। एकै दिनमा ३९६ जनासम्मको उपचार गरिएको उहाँले बताउनुभयो। “भर्ना गरेर राख्नेगरी ओपिडीमा रहेका २६ वटै शय्या भरिएका छन्। गर्मी समय सकिएर चिसो सुरु भइसकेको छ, यो बेलामा बिरामीको संख्या हरेक वर्ष बढ्छ,” डा. बाँस्तोलाले भने।
१५ शय्याको अनुमतिप्राप्त यो प्रदेश अस्पतालमा अहिले ६४ शय्या सञ्चालन गरेर सेवा दिइएको छ। कम जनशक्ति भए पनि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बहिरङ्ग सेवा प्रदान गरेर सेवा प्रवाह जारी राखिएको छ।
बहिरङ्ग विभागका बिरामीले नै आकस्मिक उपचारका शय्या भरिएपछि, आकस्मिक अवस्थाका बिरामी आएमा बहिरङ्गका बिरामीलाई भुइँमा राखेर भए पनि आकस्मिक सेवा दिनुपर्ने बाध्यता आइपरेको डा. बाँस्तोलाले बताए।
बालरोग विशेषज्ञ डा. एनिस श्रेष्ठका अनुसार, सिजनल फ्लुका कारण एकै दिनमा १८ जनासम्म बालबालिकालाई भर्ना गरेर उपचार गरिएको छ। उनीहरूमा मुख्यगरी ज्वरो, रुघाखोकी, बान्तालगायतका समस्या देखिएका छन्। यस्तै, ज्येष्ठ नागरिकमा दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढेको छ।
अस्पतालको आकस्मिक उपचार कक्षमा मात्र दैनिक करिब ४० जनाले सेवा लिइरहेका छन्।