एमाले केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यको धारणा राख्ने क्रम सकियो, स्थायी कमिटी सदस्यको सुरु

काठमाडौँ, ३१ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिन पनि ललितपुर, जावलाखेलस्थित भनिमण्डलमा जारी छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले आ-आफ्नो धारणा राख्ने क्रम सकिएको छ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले स्थायी कमिटी सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको जानकारी दिनुभयो। उहाँका अनुसार, स्थायी कमिटी सदस्यहरूले धारणा राखिसकेपछि पदाधिकारीहरूले आफ्नो विचार प्रस्तुत गर्नेछन्।

त्यसपछि अध्यक्ष ओलीले प्रतिवेदनमाथि उठेका प्रश्न तथा सुझावहरूका बारेमा एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यतालिका रहेको छ।

स्थायी कमिटी सदस्य र पदाधिकारीहरूलाई पनि तीन मिनेटकै समय उपलब्ध गराइने प्रमुख गौतमले बताउनुभयो। स्थायी कमिटीमा पार्टी पदाधिकारीबाहेक २३ जना सदस्यहरू हुनुहुन्छ। यही असोज २९ गतेदेखि जारी रहेको यो बैठक आजै सकिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो।