गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न

चितवन, २ कात्तिक ।  गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुरमा निर्माणाधीन रङ्गशाला भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा निर्माण गरेको हो ।

भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्यारापिट र दुईवटै टावरको दोस्रो तलाको काम भइरहेको छ । प्यारापिट र टावरमा फर्मा र डण्डी बाँध्ने काम भइरहेको जनाउँदै उहाँले टावरको वाल निर्माण गर्ने कामसमेत भइरहेको बताउनुभयो । उहाँका अनुसार टावर तीन तलाको हुनेछ ।

“प्यारापिटको पछाडिपट्टि कोठा निकाल्न ढलानको काम हुँदैछ । रङ्गशालामा चार वटा प्यारापिट र दुई वटा टावर रहेका छन्”, मिश्रले भन्नुभयो, “दैनिक १२२ जनाले काम गरिरहेका छन् । तिहार लागेसँगै मुस्लिम समुदायका २५-३० जनाले मात्र काम गर्नेछन् । छठपछि कामले तीव्रता पाउने छ ।” ठेक्का सम्झौताअनुसार यतिबेला ४८ प्रतिशत काम हुनुपर्नेमा सम्झौता गरेअनुरुप केही ढिलो भएको उहाँले बताउनुभयो ।

धुर्मुस-सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरलाई उक्त परियोजना हस्तान्तरण गरिएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले रङ्गशाला निर्माणको जिम्मा पाएको छ । विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाइएको महानगरले जनाएको छ ।