कार्तिक कृष्ण औँसी आज तिहारका कुनै पनि पर्व छैन तर भक्तपुरमा मनाइँदैछ म्हपुजा
काठमाडौँ, ४ कात्तिक । कार्तिक कृष्ण औँसी भए पनि मंगलबार तिहारका कुनै पनि पर्व परेको छैन तर भक्तपुरमा आज म्हपुजा मनाइँदै छ ।
सामान्यतया कार्तिक कृष्ण औँसीको रात्रिमा लक्ष्मीपूजा गर्ने परम्परा छ । तर औँसी तिथि दिउँसो नै लागेको भन्दै सोमबार राति (साँझ) नै लक्ष्मीपूजा गर्न पञ्चाङ्ग निर्णायक समितिले निर्देश गरेको थियो । त्यसैले धेरैले मंगलबार बिहान कुकुरपूजा गरी राति लक्ष्मीपूजा गरेका छन् ।
मूल वैदिक परम्पराका अनुयायीले भने तिथि नटुट्ने भन्दै मंगलबार नै लक्ष्मीपूजाको तयारी गरेका छन् । यस्तै काठमाडौँ उपत्यकाका नेवार समुदायमध्ये कतिपयले सूर्योदय हुँदाकै तिथिमा कर्म गर्ने भन्दै मंगलबार नै लक्ष्मीपूजा गर्ने भएका छन् ।
भक्तपुर नगरपालिकाका नेवार समुदायले भने कार्तिक कृष्ण प्रतिपदामा गरिने कर्म म्हपूजा (आत्मपूजा) मंगलबार गर्दैछन् । समितिबाट सिफारिसप्राप्त पात्रोमा ४ गते मंगलबार २५ घडी ५३ पला अर्थात् अपराह्न ४ बजेर २९ मिनेटसम्म औँसी छ । त्यसपछि प्रतिपदा तिथि लाग्छ । बेलुकी नै गर्ने कर्म भएकाले म्हपूजा प्रतिपदामै मंगलबार गर्ने भक्तपुर नगरपालिकाले बताएको छ । तलेजुका पुजारी, ज्योतिषी र विज्ञको छलफलपछि नगरपालिकाले सोमबार लक्ष्मीपूजा, मंगलबार म्हपूजा र बुधबार किजा (भाइ) पूजा गर्ने निर्णय गरिएको थियो ।
समितिले भने मंगलबार तिहारअन्तर्गतका कुनै पनि कर्म गर्न नसकिने बताएको छ । बुधबार नै गाई-गोरु पूजासहित गोवर्धनपूजा गर्न निर्देश गरेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए । यस्तै नेपाल संवतको नयाँ वर्षसँगै म्हपूजा पनि बुधबार नै परेको उनले जानकारी दिए ।