लागूऔषध र जवर्जस्ती करणीका कैदीबन्दी धेरै छन्, भीमफेदी कारागारमा
काठमाडौँ, कार्तिक १८ । मकवानपुरको भीमफेदी कारागारमा लागुऔषध र जबरजस्ती करणीका कैदीबन्दीको संख्या अधिक देखिएको छ । नेपालका प्रमुख कारागारहरूमध्ये एक, भीमफेदी कारागारमा हाल १ हजार २३ जना कैदीबन्दीहरू छन् । कारागार कार्यालयको विवरणअनुसार आर्थिक वर्ष २०८१/०८२ मा कैदीबन्दीहरू संलग्न अपराधको प्रकृति हेर्दा लागुऔषध, जबरजस्ती करणी, र कर्तव्य ज्यानका घटनाहरूमा कैदीबन्दीहरूको संख्या बढी छ।
कारागारको तथ्यांकअनुसार सबैभन्दा धेरै लागुऔषध मुद्दामा स्वदेशी र विदेशी गरी ३८० जनाले कैद भुक्तान गरिरहेका छन् । लागुऔषधपछि जबरजस्ती करणी मुद्दाका कैदीबन्दीहरूको संख्या २९६ छ । पछिल्लो समय लागुऔषध दुर्व्यसनी, लैङ्गिक हिंसा र यौनजन्य अपराध बढिरहेको र यसको न्यूनीकरणका लागि थप सामाजिक तथा कानुनी पहलको आवश्यकता उक्त तथ्यांकले देखाएको छ । कारागारमा कर्तव्य ज्यान मुद्दाका १४९ जना छन् । यी तीन प्रमुख अपराधमा संलग्न कैदीबन्दीको संख्या मात्रै ८२५ रहेको कारागारको विवरणमा उल्लेख छ, जुन कुल संख्याको करिब ८० प्रतिशत हो ।
तथ्यांकअनुसार अन्य अपराधहरूमा चोरीमा ४४ जना, डाँकामा २८ जना, मानव बेचबिखनमा १५ जना, र ज्यान मार्ने उद्योगमा १२ जना कैदीबन्दी छन् । हातहतियार, संगठित अपराध, र बैंकिङ कसुरजस्ता मुद्दामा पनि कैदीबन्दीहरू कारागारमा छन् । कुल कैदीबन्दी तथ्यांकअनुसार यहाँ ९९० पुरुष र ३३ महिला छन्, जसमा ७० जना विदेशी नागरिकसमेत छन् । उनीहरू लागुऔषध, चोरी र जबरजस्ती करणीजस्ता मुद्दामा कैद भोगिरहेका छन् ।
हेटौंडाका मात्र १८९ कैदीबन्दी
कारागारमा रहेका कैदीबन्दीमध्ये ४६५ जना मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहका छन्, जसमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाबाट १८९ जनाले कैद भुक्तान गरिरहेका छन् । यो कुल संख्याको ४१ प्रतिशत हो । उक्त तथ्यांकले सहरी क्षेत्रमा अपराधको दर उच्च रहेको देखाउँछ ।
कारागारमा रहेका कैदीमध्ये क्रमशः राक्सिराङ गाउँपालिकाबाट ५० जना, मनहरी गाउँपालिकाबाट ४६ जना र कैलाश गाउँपालिकाबाट ४२ जना रहेका छन् । जहाँ अधिकांश लागुऔषध ओसारपसारमा संलग्नहरू रहेका पाइएको छ, जसले ग्रामीण क्षेत्रमा पनि आपराधिक गतिविधि र त्यसका पछाडिका सामाजिक/आर्थिक कारणहरूबारे गम्भीर विमर्शको आवश्यकता औंल्याएको देखिन्छ ।