खगोल विज्ञानको सर्वोच्च संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आइएयु)

नेपाललाई आइएयुको सदस्यता प्रदान

काठमाडौँ, २२ कात्तिक  ।  लामो प्रयासपछि नेपाल खगोल विज्ञानको सर्वोच्च संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आइएयु) को सदस्य राष्ट्र बन्न सफल भएको छ । आइएयुमा नेपालको तर्फबाट नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले प्रतिनिधित्व गर्ने भएको छ ।

नासोका अध्यक्ष सुरेश भट्टराईले, आइएयुले राष्ट्रिय सदस्यका रूपमा मान्यता दिएसँगै सन् २००७ देखि नेपालमा सञ्चालित खगोल विज्ञानसम्बन्धी कार्यक्रमको औचित्य पुष्टि भएको बताउनुभयो । सन् २०२४ मा दक्षिण अफ्रिकाको केप टाउन सहरमा सम्पन्न आइएयुको ३२औँ महासभामा नेपालले आधिकारिक रूपमा पर्यवेक्षकको भूमिका प्राप्त गरेको थियो । उक्त महासभामा नासोका तर्फबाट परियोजना संयोजकको सहभागिता एवं प्रस्तुति रहेको थियो ।

नासोलाई आइएयुको राष्ट्रिय सदस्यको मान्यता प्राप्त भएको जानकारी आइएयुका नवनिर्वाचित अध्यक्ष तथा सन् २०११ को भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्रो ब्रायन पी श्मिड्टले इमेलमार्फत दिनुभएको नासोका अध्यक्ष भट्टराईले बताउनुभयो ।