भोजपुर–काठमाडौँ हवाई सेवामा तालिका थप : अब हप्तामा चार उडान
काठमाडौँ, कार्तिक २५ । पहाडी जिल्ला भोजपुर र राजधानी काठमाडौँबीचको हवाई सम्पर्क थप सहज भएको छ । नेपाल वायुसेवा निगमले भोजपुर-काठमाडौँ उडान तालिका थप गरी अब हप्तामा चार उडान सञ्चालन गर्ने भएको छ । यसअघि हप्तामा दुई वटा मात्र उडान हुँदै आएको थियो ।
नेपाल वायुसेवा निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काका अनुसार, प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको काठमाडौँ-भोजपुर-काठमाडौँ उडान कात्तिक २६ गतेदेखि लागू हुनेगरी पुनः बढेको हो । अब हरेक मंगलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान सञ्चालन हुनेछन्। यसअघि बिहीबार र शनिबार मात्र उडान हुँदै आएको थियो ।
निगमको मर्मतमा रहेको अर्को जहाज सञ्चालनमा आएसँगै भोजपुरमा उडान संख्या बढेको हो । यात्रुहरूलाई सुविधाका लागि निगमले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन टिकट खरिदको व्यवस्था पनि गरेको छ ।
यसैबीच, सडक यातायात सञ्चालनमा आएसँगै भोजपुर–विराटनगरको उडान भने बन्द भएको छ । वि.सं. २०३५ मा घाँसेमैदानबाट सुरु भएको भोजपुर विमानस्थल अहिले कालोपत्रे भइसकेको छ । लामो समयदेखि निगमको जहाजले मात्र उडान भर्दै आएको यस विमानस्थलमा उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने र आउने यात्रुहरूले समस्या भोग्दै आएका थिए ।
