झापामा चार महिनामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु

झापा, ३० कात्तिक। झापा जिल्लामा पछिल्लो चार महिनामा सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन्। चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो। यस अवधिमा २९ जना गम्भीर घाइते भएका छन् भने ६७० जना सामान्य घाइते भएका छन्।

प्रहरी निरीक्षक राईका अनुसार असोज महिनामा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको थियो। साउनमा ३, भदौमा ४ र कात्तिकमा ४ जनाको मृत्यु भएको उहाँले बताउनुभयो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश दुर्घटनामा दुईपाङ्ग्रे सवारीसाधन संलग्न छन्।

कुल ३४५ दुर्घटनामा संलग्न सवारीसाधनको सङ्ख्या ४८८ रहेको छ। तीमध्ये ३२६ वटा दुईपाङ्ग्रे, ९३ वटा चारपाङ्ग्रे, ३४ वटा मझौला, ३२ वटा ठूला र ३ वटा पहिचान हुन नसकेका सवारीसाधन रहेको राईले जानकारी दिनुभयो।

सोही अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने ६ हजार १०५ वटा सवारीसाधनलाई कारबाही गरेको छ। साउनमा २ हजार ५६४, भदौमा १ हजार ९२७, असोजमा २७१ र कात्तिकको हालसम्म १ हजार ३४३ वटा सवारीसाधनलाई कारबाही गरिएको हो। यसबापत कार्यालयले ५९ लाख ८१ हजार ५३३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।