महानगरको अमूर्त सम्पदा संरक्षणमा उपमेयर डंगाेलकाे अग्रसरता: भजन र कथाहरू नयाँ पुस्तामाझ पुर्याउने प्रतिबद्धता
काठमाडौं, २ मङ्सिर । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरको अमूल्य अमूर्त सम्पदा, विशेषगरी भजनहरूमा लुकेका परम्परागत कथाहरूलाई नयाँ पुस्तामाझ पुर्याउनुपर्ने आवश्यकतामा जोड दिनुभएका छन्।
उपमेयर डंगोलले जय श्री हारती माँ दाफाकाे प्रस्तुतीमा भजन र कथाहरू समेटिएकाे साे हेरिसकेपछि हाम्रै पुस्ताका धेरैलाई समेत यस्ता कथाहरूबारे जानकारी नभएको भन्दै यसलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएकाे हाे ।
युनेस्को क्रिएटिभ सिटी अफ फिल्मको रूपमा समेत मान्यता प्राप्त काठमाडौंमा संगीत, गायन, नृत्य लगायतका सृजनात्मक क्षेत्रहरू तथा विभिन्न मूर्त र अमूर्त सम्पदाहरू धेरै छन्। उपमेयर डंगोलले ‘बाज्या बाखकन तउ अजी धाउ’ (बाजेआमाहरूले कथा सुनाउनुहुन्थ्यो) जस्ता परम्परागत भनाइहरू स्मरण गर्दै पुराना पुस्तामा बाजेआजीले सुनाउने कथाहरूको महत्वमाथि प्रकाश पार्नुभयाे ।
उहाँले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै भन्नुभयाे, “हाम्रो पुस्तामा सानो छँदा बत्ती जाँदा चोकमा बाजेआजीहरूले कुनै न कुनै कथा सुनाउनुहुन्थ्यो, र हामी बच्चाहरू फल्चामा बसेर ती कथा सुन्थ्यौं।” तर, अहिलेका बच्चाहरू मोबाइलमा नै बढी व्यस्त रहने भएकाले ती परम्परागत कथाहरू उनीहरूसम्म पुर्याउन मल्टिमिडियाको माध्यम आवश्यक रहेको उपमेयर डंगोलको भनाइ छ।
यसै क्रममा, फिल्मका निर्माता शारदाजीले ‘स्टोरी रिसर्च’ गरेर काम गर्ने इच्छा व्यक्त गरेपछि महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। प्रशासनिक कार्यमा लाग्ने समय र प्रक्रियागत जटिलताका कारण केही चुनौती आए पनि अन्ततः सफलता मिलेकोमा उपमेयर डंगोलले खुसी व्यक्त गर्नुभयाे ।
उहाँले फिल्मका निर्माता शारदाजी र उनको टोलीले कथा, दाफा म्युजिक, र प्रशासनिक काममा गरेको मेहनतको लागि धन्यवाद दिनुभयाे । उपमेयर डंगोलले भजन सुन्न पाउनु र त्यससँगै कथा हेर्न पाउनु, जुन हाम्रै घरमा हुने दैनिकीसँग मिल्दोजुल्दो छ (जस्तै बच्चा बिरामी हुँदा गरिने कर्महरू), निकै प्रशंसनीय भएको बताउनुभयाे ।
“यो त सुरुवात मात्र हो,” उपमेयर डंगोलले भन्नुभयाे, “यस्तै धेरै हाम्रा कथाहरू, बाखंहरू (बाख्यान) र विभिन्न मिथकहरूलाई अझ अगाडि ल्याउन निरन्तर प्रयास भइरहोस्। महानगरपालिका यस्ता कार्यमा सधैं यहाँहरूसँगै छ।” उहाँले नेवारी भाषामा ‘यक्यु यक्यु सुभाये भन्दै शुभकामना व्यक्त गर्नुभयाे ।
