बालाचतुर्दशी पर्व: पशुपतिसहित देशभरका शिवालयमा शतबीज छर्नेको भीड; भक्तपुरमा स्थानीय शिवालय नै बने विकल्प
काठमाडौँ, ३ मङ्सिर । मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी पर्व आज देशभरका शिवालयमा मनाइँदैछ। यस अवसरमा भक्तजनहरूले आफ्ना दिवङ्गत पितृहरूको सद्गति कामनासहित शतबीज छर्ने प्रचलन रहेको छ।
बालाचतुर्दशीको अघिल्लो रात मार्गशीर्ष कृष्ण त्रयोदशीमा देशभरका शिवालयहरूमा दीपदान गरी रातभर जाग्राम बस्ने गरिन्छ। भक्तजनहरूले आज बिहानै स्नान गरी मन्दिर परिसरमा शतबीज छरी पर्व मनाउँछन्।
काठमाडौँको पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको घुइँचो लाग्ने भए पनि पछिल्ला वर्षहरूमा स्थानीय शिवालयहरूमा नै दीपदान तथा शतबीज छर्ने क्रम बढ्दै गएको छ। विशेष गरी भक्तपुरका स्थानीयवासीले पशुपतिको विकल्पमा नजिकका महादेव मन्दिरहरूलाई गन्तव्य बनाएका छन्।
डोलेश्वरमा ५०० भन्दा बढीद्वारा महादीप दान
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर बालाचतुर्दशी मनाउने भक्तजनको प्रमुख केन्द्र बनेको छ। यहाँ पाँच सयभन्दा बढी स्थानीयले आफ्ना दिवङ्गत पितृको सम्झनामा अखण्ड दीप तथा महादीप बालेर रातभर जाग्राम बसेका छन्।
डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री हरिशरण बस्नेतले मन्दिरमा १०८ शिवलिङ्ग र चौघेरा सत्तलको व्यवस्था गरिएपछि स्थानीयवासीलाई पशुपति जानुपर्ने बाध्यता हटेको जानकारी दिनुभयो।
पहिले पशुपति जाँदै आएका यहाँका बासिन्दाले डोलेश्वर महादेव मन्दिरको मूल दीपबाट दीप प्रज्वलन गरी रातभर जाग्राम बसेपछि भोलिपल्ट बिहानै स्नान गरी १०८ शिवलिङ्ग परिसरमा शतबीज छर्ने गरेका छन्।
गोकुलधाम र ज्योतिर्लिङ्गेश्वरमा सहज व्यवस्था
यसैगरी, चाँगुनारायण नगरपालिका–५ छालिङ्गस्थित गोकुलधाम (मच्छेनारायण मन्दिरसँगै रहेको १०८ शिवलिङ्ग परिसर) मा पनि रातभर जाग्राम बस्नेको भीड लागेको छ। स्थानीय बासिन्दाको सुविधाका लागि महादीप बाल्ने, बस्ने र सुरक्षाको व्यवस्था मिलाइएको स्थानीय युवा गोकर्ण पुरीले बताउनुभयो। उहाँका अनुसार यहाँका बासिन्दाले पशुपतिको भीड छलेर आफ्नै गाउँमा सहजतापूर्वक पर्व मनाउन थालेका छन्।
चाँगुनारायणस्थित प्रसिद्ध ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरमा पनि १०८ शिवलिङ्गको व्यवस्था गरिएपछि स्थानीयले दिवङ्गत पितृका नाममा अखण्ड दीप बालेर बालाचतुर्दशी मनाउन थालेका छन्। विगतमा पशुपति जाँदै आएका यहाँका बासिन्दाका लागि मन्दिरमै सम्पूर्ण व्यवस्थापन भएपछि सहज भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति भक्तपुरका पूर्वप्रमुख नवराज गेलालले जानकारी दिनुभयो।
अन्य शिवालयमा पनि दीपदान
भक्तपुरका अन्य महत्वपूर्ण शिवालयहरूमा पनि बालाचतुर्दशीको अवसरमा भक्तजनको भीड लागेको छ। सूर्यविनायककै सिपाडोलस्थित आशापुरी महादेव मन्दिर, वडा नं. ७ गुण्डुको अनन्तलिङ्ेश्वर महादेव मन्दिर, सिरुटारको चरखण्डीश्वर महादेव मन्दिर, सोमलिङेश्वर महादेव मन्दिर र गुप्तेश्वर महादेव मन्दिरमा स्थानीय बासिन्दाले रातभरि जाग्राम बसी दीप तथा महादीप बालेका छन्।
त्यस्तै, मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारस्थित सङ्गमेश्वर महादेव मन्दिर तथा चाँगुनारायण–८ सुडालमा रहेको ठूली ब्रम्हायणी मन्दिर परिसरको पशुपतिनाथ मन्दिर र चौसठ्ठी शिवलिङ्गमा पनि मेला लागेको छ।
स्थानीय शिवालयहरूमा बुधबार बिहान शतबीज छर्ने, खोलामा दीप विसर्जन गर्ने र होमहोमादी पूजा गर्ने व्यवस्था मिलाइएकाले भक्तजनहरूलाई पर्व मनाउन थप सहज भएको छ।