नेकपा एमालेद्वारा काठमाडौँमा बृहत् शक्ति प्रदर्शन: ६० हजार बढी जनसहभागीता हुने

 

काठमाडौँ, ६ मङ्सिर ।  भदौ २३ र २४ गतेको विद्धसंपछि मुलुकभर राजनीतिक दलका सडक कार्यक्रमहरूमा सामान्य कमी आइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज शनिबार काठमाडौँमा केन्द्रीय स्तरको बृहत् शक्ति प्रदर्शन गर्ने भएको छ।

पार्टी सङ्गठनलाई वडा, पालिका र जिल्ला सदरमुकामसम्म सक्रिय बनाएपछि एमालेले आज काठमाडौँको प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गर्दैछ। यो कार्यक्रम नेकपा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा हुन लागेको हो।

आन्तरिक शक्ति मजबुत भएको सन्देश दिने रणनीति

संसद विघटन तथा अन्य समसामयिक राजनीतिक मुद्दाहरूमा सडकदेखि अदालतसम्म आफ्नो उपस्थिति जनाउन खोजेको एमालेले आजको जनसभालाई आन्तरिक शक्ति मजबुत भएको सन्देश प्रवाह गर्ने महत्त्वपूर्ण कार्यक्रमका रूपमा लिएको छ।

एमालेले प्रतिनिधिसभा विघटनको कदम र तत्कालीन सरकारका कतिपय निर्णयहरूलाई असंवैधानिक भन्दै निरन्तर विरोध गर्दै आएको छ। पार्टीको यस विशाल भेलामार्फत राजनीतिक गतिरोधका विषयमा आफ्नो आधिकारिक अडानलाई थप बलियो बनाउने एमालेको तयारी छ।

एमालेका नेताहरूले यो प्रदर्शन जनताको समर्थनमा आफ्नो अडान सही रहेको पुष्टि गर्ने अवसर भएको बताएका छन्।

नेता कार्यकर्ताको बाक्लो उपस्थिति

जनसभामा देशभरका पार्टी नेता, कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ। एमालेका अनुसार यो कार्यक्रम पार्टीको पछिल्लो सङ्गठन विस्तार र जनतासँगको सङ्ख्यात्मक सम्बन्ध मापन गर्ने एक सूचक पनि हो।

एमालेका पोलिटब्युरो सदस्य तथा नेता महेश बस्नेतले जनसभालाई भव्य बनाउन व्यापक तयारी गरिएको जानकारी दिए। उनले भने, ‘हाम्रो तयारी अनुसार कम्तीमा ६० हजार मान्छेलाई राजधानीमा उतार्ने लक्ष्य राखेका छौँ। यो जनप्रदर्शन एमालेको आधारभूत शक्ति प्रदर्शन हुनेछ।’

प्रदर्शनीमार्गमा हुने सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *