लोकतान्त्रिक परिपाटीको सुदृढीकरणमा अध्यक्ष ओलीको जोड
काठमाडौँ, ६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताबाट चुनिएका प्रतिनिधिहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ।
आज काठमाडौँको भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि गठन भएको सरकारले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको भावनाबमोजिम नभएको भन्दै यस्ताे बताउनुभएकाे हाे ।
उहाँले पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय स्वयंसेवक फोर्स सबैको सुरक्षाका निम्ति भएको कुरा पनि स्पष्ट पार्नुभयो।
पार्टीका महासचिव शङ्कर पोखरेलले संविधान र लोकतन्त्रको सुदृढीकरणका लागि नेकपा एमाले निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सोही अवसरमा पार्टीका वाग्मती प्रदेश कमिटीका इन्चार्ज डा राजन भट्टराई, सचिव नवराज सिलवाललगायतका वक्ताहरूले पार्टीको जनपरिचालनको उद्देश्य र औचित्यबारे प्रकाश पार्नुभएको थियो।