एनपीएलमा आज दुई रोमाञ्चक प्रतिस्पर्धा
काठमाडौं, ८ मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई महत्त्वपूर्ण खेल हुने भएका छन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स आमनेसामने हुनेछन्। त्यसपछि दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्ने कार्यक्रम रहेको छ।
अंक तालिकामा सुदूरपश्चिम र विराटनगर शीर्ष स्थानमा
दुई–दुई खेल खेलिसकेका सुदूरपश्चिम र विराटनगर चार–चार अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्। तीन खेल खेलेको काठमाण्डौं दुई अंक जोड्दै तेस्रो स्थानमा छ।
प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले समान दुई–दुई अंक बनाएका छन्। यस्तै, जनकपुर र पोखरा अझै अंकबिहीन छन्। जनकपुरले भर्खरै एक खेल मात्र खेलेको छ भने पोखराले खेलेका दुवै खेलमा पराजय बेहोरेको छ।
एनपीएलको विवरण
मङ्सिर १ गतेदेखि सुरु भएको एनपीएल यही २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुने कार्यक्रम छ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गरिरहेको छ। शनिबारका खेलका लागि साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट १५०० रुपैयाँ तोकिएको छ। अन्य दिनको लिग चरणका खेलका लागि साधारण टिकट ५०० र प्रिमियम टिकट १००० रुपैयाँ राखिएको छ।
प्लेअफपछिका खेलका लागि भने साधारण टिकट १००० र प्रिमियम टिकट २००० रुपैयाँ निर्धारण गरिएको क्यानले जनाएको छ।
सहभागी टोली
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।