एमाले नेतामाथि आक्रमण भएपछि अखिलले दियाे चेतावनी: सरकारले अराजकता प्रवर्धन गर्दैछ, कठोर प्रतिवाद हुन्छ
काठमाडौं, ८ मङ्सिर । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले एमाले नेताहरू माथि भएको दुर्व्यवहारको घटनालाई कानुनी राज्यको उपहास भएको बताएको छ।
एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेत महत्वपूर्ण राजनीतिक कार्यक्रमको सिलसिलामा जाँदै गर्दा विराटनगर विमानस्थलमा कायरतापूर्वक दुर्व्यवहार गरिएकामा अखिलको ध्यानाकर्षण भएको जनाएकाे छ ।
अखिलका अध्यक्ष दीपक धामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जनमत र संविधानले नचिनेको, अलोकतान्त्रिक र असंवैधानिक सरकारले देशमा अराजकतालाई प्रवर्धन गरिरहेको छ।”
अखिलले यस प्रकारका हर्कत बारम्बार दोहोरिनुले सरकारले नै अराजकता बढाउन बल पुर्याएको पुष्टि हुने उल्लेख गरेको छ।
आइतबार विज्ञप्ति जारी गर्दै अखिलले भनेको छ, “यस्ता कुकृत्यहरू दोहर्याइँदै गरेको प्रति अनेरास्ववियु घोर निन्दा गर्दै कठोर प्रतिवादमा उत्रिने चेतावनी दिन चाहन्छौँ। बहुदलीय लोकतन्त्र र कानूनी राज्यको उपहास गर्दै घटित यस प्रकारका घटनाले देशलाई थप अराजकतातर्फ धकेल्ने निश्चित छ।”