विदेशी सामाजिक सञ्जालको नियमन नहुँदा साइबर अपराध नियन्त्रणमा जटिलता
काठमाडौँ, मंसिर ८ । नेपालमा दर्ता नभएका र विदेशबाट सञ्चालित सामाजिक सञ्जालहरूको उचित नियमन हुन नसक्दा साइबर अपराध न्यूनीकरण तथा पीडितलाई न्याय दिलाउने कार्य चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरूले बताएका छन् ।
महिला, कानुन तथा विकास मञ्च र सञ्चारिका समूहको संयुक्त आयोजनामा शनिबार ललितपुरमा सम्पन्न ‘नेपालमा महिला तथा बालिकाविरुद्ध हुने डिजिटल हिंसा’ विषयक अन्तरक्रियामा सहभागी वक्ताहरूले डिजिटल प्लेटफर्महरूको कानुनी दायरा र नियमनको अभावलाई मुख्य चुनौतीका रूपमा औँल्याएका हुन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा सूचीकृत नभएका र विदेशमा मुख्य कार्यालय रहेका सामाजिक सञ्जालहरूबाट हुने अपराधको अनुसन्धानमा जटिलता रहेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “आपत्तिजनक सामग्री हटाउन र दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन समन्वयको अभाव खड्किएको छ । डिजिटल अपराधको बदलिँदो प्रकृतिलाई सम्बोधन गर्न विद्यमान कानुनलाई समयसापेक्ष परिमार्जन गर्नु अपरिहार्य भइसकेको छ ।”
नेपाल प्रहरीको साइबर ब्युरोकी प्रहरी निरीक्षक दीपा भट्टराईले साइबर अपराधबाट महिला र बालबालिका सबैभन्दा बढी प्रताडित भइरहेको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँका अनुसार, ब्युरोमा परेका उजुरीमध्ये ५० प्रतिशत निवेदक महिला रहेका छन् ।
उहाँले प्रस्तुत गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा ९ हजार वटा, आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ४ सय वटा, चालु आर्थिक वर्षको हालसम्म २ हजार ९ सय वटा उजुरी दर्ता भएका छन् ।
प्रहरी निरीक्षक भट्टराईले डिजिटल अपराधले पीडितको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै यसविद्ध खुलेर आवाज उठाउन आग्रह गर्नुभयो ।
सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले भर्चुअल दुनियाँमा सक्रिय नयाँ पुस्तालाई डिजिटल हिंसा र कानुनी उपचारबारे सुसूचित गराउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले लैङ्गिक आधारमा हुने डिजिटल हिंसाको प्रकृति फरक हुने हुँदा साम्प्रदायिक सद्भाव र लैङ्गिक समानतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
पूर्वमिस नेपाल माल्भिका सुब्बाले १५ वर्षअघि आफूले भोगेको डिजिटल हिंसाको अनुभव सुनाउँदै, सचेतनाको अभावमा धेरै पीडितले कानुनी उपचार नपाएको र मानसिक तनाव झेल्नुपरेको यथार्थ राख्नुभयो । उहाँले यस्ता घटनामा सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा डिजिटल हिंसाका विषयवस्तु समेटिएको कचहरी नाटकसमेत प्रदर्शन गरिएको थियो ।
