नियमन नभए ‘जेनेरेटिभ एआई’ आधुनिक समयको ‘दानव’ बन्न सक्ने राष्ट्रसङ्घका मानवअधिकार प्रमुखको चेतावनी
काठमाडौँ, मंसिर ८ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले तीव्र गतिमा विकास भइरहेको ‘जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) उचित नियमनको अभावमा मानव सभ्यताकै लागि जोखिमपूर्ण बन्न सक्ने चेतावनी दिनुभएको छ । उहाँले एआईको अनियन्त्रित विकासलाई मेरी शेलीको प्रसिद्ध उपन्यासको पात्र ‘फ्रान्केस्टाइनको राक्षस’ सँग तुलना गर्दै यसले भविष्यमा गम्भीर समस्या निम्त्याउन सक्ने बताउनुभएको हो ।
शक्तिशाली प्रविधि कम्पनीहरूले एआईको प्रयोगलाई व्यापक बनाउँदै लैजाँदा यसले मानव अधिकारका आधारभूत विषयहरूलाई छायामा पार्न सक्ने उहाँको विश्लेषण छ ।
उच्चायुक्त टर्कले भन्नुभयो, “जेनेरेटिभ एआईमा मानव हितका लागि ‘ठूलो आशा’ लुकेको छ, तर विशुद्ध राजनीतिक वा आर्थिक लाभका लागि प्रविधिको दुरुपयोग गरिएमा यसले समाजलाई विकृत र विचलित बनाउन सक्छ ।”
उहाँले गोपनीयता, राजनीतिक सहभागिता र अभिव्यक्ति स्वतन्त्रताजस्ता आधारभूत मानव अधिकारमाथि एआईका कारण अहिले नै खतराका सङ्केतहरू देखिन थालेको बताउनुभयो । “उचित सुरक्षा मापदण्ड र कानुनी नियमन बिना, एआई प्रणालीहरू आधुनिक समयको ‘फ्रान्केस्टाइन’ को राक्षसमा परिणत हुने सम्भावना प्रबल छ,” उहाँले थप्नुभयो ।
उच्चायुक्त टर्कले आज गरिएका चेतावनीलाई बेवास्ता गरे भोलि त्यो ‘हानिमा परिणत हुन सक्ने’ बताउनुभयो । यस्तो लापरवाहीले उदीयमान प्रविधिहरूको विश्वसनीयतालाई कमजोर पार्नुका साथै समाजमा अप्रत्याशित परिणामहरू निम्त्याउन सक्ने उहाँको भनाइ छ । यस्ता सम्भावित जोखिम रोक्नका लागि सरकारहरूले जिम्मेवार भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
एआईको जोखिमबाहेक उच्चायुक्त टर्कले विश्वमा बढ्दो कर्पोरेट शक्तिको एकाधिकार र सीमित व्यक्ति वा संस्थामा सम्पत्तिको अस्वाभाविक सञ्चयप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।
“केही कर्पोरेट संस्थाहरूको सम्पत्ति र शक्ति सिङ्गो देशको अर्थतन्त्रभन्दा बढी भइसकेको छ,” उहाँले भन्नुभयो, “जब शक्तिलाई कानुनले नियन्त्रण वा सीमित गर्दैन, त्यसले दुरुपयोग र अधीनताको अवस्था निम्त्याउँछ ।”
