‘जेन-जी’ का नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबारमा उच्च सतर्कता, प्रधानमन्त्री कार्यालय प्रवेशमा कडाइ

 

काठमाडौं, ९ मङ्सिर ।  पछिल्लो समय ‘जेन-जी’ (Gen-Z) को आवरणमा विभिन्न समूहहरू सिंहदरबार प्रवेश गरी उच्छृंखल गतिविधिमा संलग्न हुन थालेपछि सरकारले सुरक्षा व्यवस्थामा कडा निगरानी सुरु गरेको छ। विशेषगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सिंहदरबारको मूल प्रवेशद्वारमा सुरक्षा व्यवस्था कडा पारिएको हो।

विभिन्न माग राख्ने बहानामा सिंहदरबार छिर्ने र प्रधानमन्त्रीसँग भेट्दा अमर्यादित तथा आक्रामक रूपमा प्रस्तुत हुने क्रम बढेपछि प्रशासनले यस्तो कदम चालेको हो। सुरक्षा अधिकारीहरूका अनुसार, ज्ञापनपत्र बुझाउने नाममा आउने केही समूहले शान्ति सुरक्षामा खलल पुर्‍याउने र कार्यालय परिसरमै होहल्ला गर्ने गरेको पाइएको छ।

दक्षिण गेटबाटै प्रवेश निषेधको रणनीति
सुरक्षा स्रोतका अनुसार, अबदेखि यस्ता शङ्कास्पद समूहलाई सिंहदरबारको दक्षिण गेट (साउथ गेट) बाटै भित्र पस्न नदिने रणनीति लिइएको छ। “भित्र छिरेर हुलहुज्जत गर्नुभन्दा बाहिरै रोक्नु उपयुक्त देखिएकोले यस्तो निर्देशन दिइएको हो,” एक सुरक्षा अधिकारीले भने। यसका साथै, प्रधानमन्त्री कार्यालयको मुख्य भवन अगाडि पनि थप प्रहरी बल तैनाथ गरिएको छ।

के थियो घटनाक्रम?
केही दिनयता जेन-जी अभियानको नाममा सक्रिय मिराज ढुंगाना, रविकिरण हमाललगायतका युवाहरूको समूह सिंहदरबार केन्द्रित भएको देखिएको छ।

बिहीबार मात्रै, मिराज र रविकिरणसहितको समूहलाई सुरक्षाकर्मीले गेटमै रोकेपछि उनीहरूले आफ्नो मागपत्र बाहिरै टाँसेर फर्किएका थिए। सोही दिन अर्को एक समूहले प्रधानमन्त्री कार्यालयको प्रतीक्षा कक्ष (वेटिङ हल) सम्म पुगेर होहल्ला र हुलहुज्जत गरेको थियो। यस्तै, सुधन गुरुङ पनि मागपत्र बोकेर त्यहाँ पुगेको सुरक्षा स्रोतले जनाएको छ।

शुक्रबार (आज) पनि मिराज ढुंगानाको नेतृत्वमा एक समूह प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार गेटमा पुगेको थियो। तर, प्रहरीले उनीहरूलाई भित्र पस्न दिएन। उल्टै, सुरक्षाकर्मीले उक्त समूहलाई गेटबाट लखेट्दै अनामनगरको पुलसम्म पुर्‍याएको छ।

स्वार्थ समूहको घुसपैठ भएको आशंका
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, जेन-जीकै योगदान र बलिदानको जगमा बनेको वर्तमान सरकारलाई ‘जेन-जी’ कै नाम भजाएर अप्ठ्यारो पार्ने काम भइरहेको निष्कर्ष निकालिएको छ। “जेन-जीका नाममा अनेक स्वार्थ समूहहरू खडा भएका छन् र उनीहरूले सरकारलाई घेराबन्दी गर्न खोज्दैछन्,” स्रोतले भन्यो, “त्यसैले यस्ता अवाञ्छित गतिविधि गर्नेहरूलाई कार्यालय प्रवेशमा रोक लगाउन स्पष्ट निर्देशन दिइएको छ।”