आत्मदाह प्रयास गरेका झापाका पोखरेलको उपचारका क्रममा मृत्यु
काठमाडौँ, मंसिर १० । सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका-२ निवासी ५५ वर्षीय सूर्यप्रसाद पोखरेल रहेका छन् ।
मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७ स्थित डुमडुमे मन्दिर अगाडि पोखरेलले शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा बुधबार बिहान २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो ।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शी रोशन बोहोराका अनुसार मङ्गलबार साँझ करिब पौने ८ बजे पोखरेलले आगो लगाएपछि स्थानीयले तत्काल पानी र बालुवा हालेर आगो निभाएका थिए । लालबन्दीस्थित एक स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि प्रहरीले उनलाई राति ९ बजे थप उपचारका लागि जनकपुर पठाएको थियो ।
घटनाको समयमा पोखरेलको पहिचान खुल्न सकेको थिएन । प्रहरी निरीक्षक जोहारीका अनुसार बुधबार बिहान परिवार सम्पर्कमा आएपछि मात्र मृतकको सनाखत भएको हो ।
पोखरेलले आत्मदाह गर्नुको यकिन कारण खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानअनुसार उनी केही समयदेखि घरपरिवारभन्दा टाढा रही मठ–मन्दिरमा बस्दै आएको पाइएको छ ।
हाल मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको जानकारी पाएपछि मृतकका आफन्तहरू झापाबाट जनकपुरतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ ।