पूर्वाधार निर्माणमा वातावरण र सामाजिक पक्षलाई अभिन्न अङ्ग बनाउन उपप्रमुख डंगोलको निर्देशन
काठमाडौँ, मङ्सिर ११ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले पूर्वाधार योजना तर्जुमा गर्दा वातावरणीय र सामाजिक पक्षलाई अभिन्न अङ्गका रूपमा समेट्न निर्देशन दिनुभएको छ ।
हरेक बिहीबार गरिने योजना अनुगमनअन्तर्गत आज जमल, असन, बालकुमारी, मच्छिन्द्र बहाल हुँदै इन्द्रचोकसम्म ढुङ्गा बिछ्याउने योजनाको स्थलगत निरीक्षण गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उपप्रमुख डंगोलले योजनाको नक्साङ्कन (ड्रइङ), डिजाइन र लागत अनुमान तयार पार्दा नै प्राविधिकहरूले वातावरण संरक्षण र स्थानीय सामाजिक आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
सहरी क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको सन्दर्भमा उहाँले भन्नुभयो, “सडक सतहबाटै पानी पुनर्भरण (रिचार्ज) हुन सम्भव नभए ‘वाटर रिचार्ज पीट’ निर्माण गरेर भए पनि पानी जमिनमुनि पठाउने व्यवस्था मिलाउनुपर्छ । योजना तर्जुमा गर्दा त्यस स्थानमा रहेका पुराना पूर्वाधार र स्थानीयको अपेक्षालाई ध्यान दिए मात्र विकास दिगो र समुदायले अपनत्व ग्रहण गर्ने खालको हुन्छ ।”
अनुगमनका क्रममा सार्वजनिक निर्माण विभागका प्रमुख सुरेशकुमार राईले उक्त सडक खण्डमा सुरुमा पानी पुनर्भरण हुने विधिबाट ढुङ्गा बिछ्याउने योजना रहे पनि प्राविधिक परीक्षणपछि परिमार्जन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार १०० मिटर सडकमा गरिएको परीक्षणमा सवारी साधनको चापका कारण उक्त विधि टिकाउ नहुने देखिएपछि योजना संशोधन गरिएको हो ।
करिब ९ सय मिटर लामो यस सडक खण्डमा ४ करोड ४२ लाख ८३ हजार रुपैयाँ लागत अनुमान गरिएकोमा सार्वजनिक खरिद प्रक्रियामार्फत आइएस निर्माण सेवाले ३ करोड ५१ लाख १४ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको छ । २०८१ असार २४ गते कार्यादेश पाएको हो । सडकमा १२ इञ्च लम्बाइ, ८ इञ्च चौडाइ र ४ इञ्च मोटाइका ढुङ्गा छापिनेछन् ।
अनुगमनमा सहभागी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सडकको सतहबाट पानीको निकास र पैदल यात्री तथा स्थानीय व्यापारीलाई पर्न सक्ने असरका विषयमा गम्भीर हुन प्राविधिकहरूलाई निर्देशन दिनुभयो ।
योजना मूल्याङ्कन तथा अनुगमन एकाइका उपनिर्देशक गंगाधर गौतमले अनुगमनका क्रममा केही सामान्य प्राविधिक त्रुटि देखिएको र तिनलाई तत्काल सच्याउन निर्माण पक्षलाई पत्राचार गरिने जानकारी दिनुभयो । अनुगमनमा वडाध्यक्ष, कार्यपालिका सदस्य, विपद् व्यवस्थापन तथा वातावरण अनुगमन टोली र स्थानीयवासीको सहभागिता रहेको थियो ।