व्यावसायिक अन्तरिक्ष क्षेत्रको नियमन तथा समन्वयका लागि चीनमा नयाँ विभाग गठन

काठमाडौँ, मंसिर १४ । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले मुलुकमा तीव्र गतिमा विस्तार भइरहेको व्यावसायिक अन्तरिक्ष क्षेत्रको उचित व्यवस्थापन, समन्वय र नियमन गर्न एक नयाँ विभागको स्थापना गरेको छ । प्रशासनका अनुसार, यो नयाँ संयन्त्रको स्थापना व्यावसायिक अन्तरिक्ष उद्योगका लागि विशेष नीतिगत व्यवस्था र नियमनकारी ढाँचा तयार पार्न चालिएको महत्त्वपूर्ण कदम हो । यसले यस क्षेत्रको उच्च गुणस्तरीय विकासलाई निरन्तरता दिँदै समग्र उद्योग शृङ्खलालाई लाभान्वित गर्ने अपेक्षा गरिएको छ।

पछिल्ला वर्षहरूमा सरकारका सहयोगी नीति, प्राविधिक उपलब्धि र बढ्दो बजार मागका कारण चीनको व्यावसायिक अन्तरिक्ष क्षेत्रले ऐतिहासिक फड्को मारेको छ । उद्योगभित्रको आपसी सहकार्य र नवप्रवर्तनले यो प्रगति सम्भव भएको बताइएको छ।

प्रशासनका अधिकारीहरूका अनुसार, हाल चीनमा व्यावसायिक अन्तरिक्षसँग सम्बन्धित उद्यम तथा कम्पनीहरूको सङ्ख्या छ सयभन्दा बढी पुगिसकेको छ। सुरक्षालाई प्राथमिकतामा राख्दै यस क्षेत्रमा विकासका नयाँ सम्भावनाहरू क्रमशः खुल्दै गएका छन्।

यसै सन्दर्भमा, प्रशासनले सन् २०२५ देखि २०२७ सम्मका लागि व्यावसायिक अन्तरिक्ष क्षेत्रको सुरक्षित र गुणस्तरीय विकास प्रवर्द्धन गर्ने उद्देश्यले एक विशेष कार्ययोजना समेत सार्वजनिक गरेको छ। उक्त योजनाले व्यावसायिक अन्तरिक्ष गतिविधिलाई राष्ट्रको समग्र अन्तरिक्ष विकास रणनीतिको मूल प्रवाहमा जोड्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *