हेटौँडामा सडक विस्तार, विस्थापित व्यवसायीलाई वैकल्पिक व्यवस्थापनको तयारी
हेटौँडा, १६ मङ्सिर । सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार गर्ने भएपछि विस्थापित हुने व्यवसायीहरूको व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकाले पहल सुरु गरेको छ।
उपमहानगरपालिकाले विस्थापित व्यवसायीलाई हेटौँडा बसपार्कमा रहेका ४० वटा सटर र हेटौँडा–११ स्थित तरकारी फलफूल तथा थोक बजारका ६० वटा कोठामा राख्न सकिने जनाएको हाे।
मेयर मीनाकुमारी लामाका अनुसार, भूटनदेवी माध्यमिक विद्यालयले निर्माण गरेका खाली सटरमा समेत व्यवस्थापनका लागि उपमहानगरपालिकामा छलफल भएको छ। धेरैजसो व्यवसायीले हेटौँडा बजार क्षेत्रमा २ वटा पसल राखेर व्यवस्थापन गरिसकेको उपमहानगरपालिकाको दाबी छ। बजार क्षेत्र भत्कने हल्लासँगै लामो समयदेखि खाली रहेको नारायणी मलसमेत व्यवसायीले बुक गरिसकेका छन् भने बजार क्षेत्रका खाली सुपर मार्केटमा समेत व्यवस्थापन गर्न सकिने बताइएको छ।
उपमहानगरपालिकाले विस्थापित व्यवसायीको पुनःस्थापनामा आवश्यक सहयोग र समन्वयका लागि मकवानपुर उद्योग वाणिज्य संघलाई आग्रह गरेको छ।
सडक डिभिजन हेटौँडाले मङ्सिर ५ गते १५ दिने सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरीसम्मका ५ सय ३१ घरटहरा हटाउने तयारी गरेको छ।
घरटहरा भत्काउन आवश्यक बन्दोबस्तीका साथै सडक डिभिजनले मेनरोडका पेट्रोल पम्पहरूलाई इन्धन बेच्नसमेत रोक लगाइसकेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले घरटहरा हटाउने र सडक विस्तार गर्ने कार्यमा अवरोध नगर्न अनुरोध गरिसकेको छ।