ओपनएआई र नेक्स्टडीसीबीच अस्ट्रेलियामा अर्बौं डलरको एआई केन्द्र निर्माण सम्झौता

एजेन्सी, १९ मङ्सिर । च्याटजिपीटीको निर्माता ओपनएआई र अस्ट्रेलियाली डाटा सेन्टर अपरेटर नेक्स्टडीसीबीच सिड्नीमा अर्बौं डलरको कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र विकास गर्ने सम्झौता भएको छ।

ब्रिस्बेनमा मुख्यालय रहेको नेक्स्टडीसीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, दुवै कम्पनीबीच एआई क्याम्पस र जीपीयू ‘सुपरक्लस्टर’ निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो।

यस सम्झौताअनुसार, यी कम्पनीहरूले पश्चिमी सिड्नीमा अत्याधुनिक एआई पूर्वाधारको योजना, विकास तथा सञ्चालनमा सहकार्य गर्नेछन्। यो खबर सार्वजनिक भएपछि नेक्स्टडीसीको सेयर दिउँसोको कारोबारमा ४.१ प्रतिशतले उकालो लागेको छ।

अस्ट्रेलियाली सरकारले सात अर्ब अस्ट्रेलियन डलर (झन्डै चार अर्ब ६० करोड अमेरिकी डलर) बराबरको यो परियोजनाले निर्माण, प्रविधि, इन्जिनियरिङ र परिचालन क्षेत्रमा हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ। सरकारका अनुसार, यो विशाल केन्द्रले नयाँ नवीकरणीय ऊर्जा स्रोत प्रयोग गर्नेछ र पिउने पानी प्रयोग नगरी चिस्याउन सकिने ‘नेक्स्ट जेनेरेसन’ सुविधा निर्माण गरिनेछ।

अस्ट्रेलियाका अर्थमन्त्री जिम चाल्मर्सले यस परियोजनालाई देशको एआई क्षमताको ठोस प्रमाणका रूपमा प्रस्तुत गर्दै यो साझेदारीले गुणस्तरीय रोजगारी सिर्जना गर्ने, सीप अभिवृद्धि गराउने र अर्थतन्त्रभरि एआई प्रयोग विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, अस्ट्रेलियामा उपलब्ध प्रतिभा, स्वच्छ ऊर्जा क्षमता, मजबुत व्यापारिक साझेदारी र सहायक नीतिका कारण देश एआई क्षेत्रका ‘ठूला विजेतामध्ये एक’ बन्न सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *