एमाले सरकार ढाल्ने होइन चुनाव जित्ने अभियानमा छ, चुनावपछिको सरकार एमालेको हुन्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने वा राजनीतिक समिकरण बदल्ने खेलमा नभई आगामी निर्वाचनमा बहुमत ल्याउने अभियानमा केन्द्रित रहेको स्पष्ट पारेका छन्।
पार्टीको मुखपत्र नवयुगको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यद्यपि आगामी फागुन २१ गतेभित्र चुनाव नहुने तर जुनसुकै समयमा हुने चुनावमा एमाले बहुमतसहित सत्तामा फर्किने दाबी गरेका छन्।
‘धोबीपाट हानेर पछार्छौं’
अध्यक्ष ओलीले एमालेमाथि भइरहेको राजनीतिक आक्रमणलाई महाभारतको अभिमन्यूको उदाहरणसँग तुलना गर्दै भने, “एमालेलाई महाभारतको अभिमन्यूजस्तै एक्लै पारेर चक्रव्यूहमा घेरा हालेर आक्रमण गरिएको छ। तर आउने चुनावपछि उनीहरूलाई धोबीपाट हानेर पछार्छौं।”
उनले थपे, “एमाले समिकरण बदल्ने वा सरकार ढाल्ने खेलमा छैन। यो सरकारले फागुन २१ मा चुनाव त गराउँदैन, तर अब हुने चुनावमा एमाले बहुमतसहित फर्किनेछ। अरू पूराना पार्टी के गर्छन् मलाई थाहा छैन, तर एमाले फर्किन्छ।”
विगतको अनुभव र आत्मविश्वास
अध्यक्ष ओलीले २०७३ र २०७८ सालमा पनि एमालेमाथि राजनीतिक हमला भए पनि जनमतबाटै सत्तामा फर्किएको सम्झाउँदै यसपटक पनि त्यस्तै हुने विश्वास व्यक्त गरे।
उनले भने, “कतिपयले पूराना पार्टीलाई आउन नदिने भनेर प्रचार गरे पनि एमालेलाई कसैले परास्त गर्न सक्दैन। हामी जनताको शक्तिमा विश्वास गर्छौं।”
सरकारको आलोचना
अध्यक्ष ओलीले वर्तमान सरकारमाथि तीखो आलोचना गर्दै भने, “हाहुको भरमा सरकार बन्दैन। सरकार अहिले आफूलाई दिइएको जिम्मेवारीभन्दा बाहिर गइरहेको छ।”
उनले सरकारको नेतृत्वमाथि व्यङ्ग्य गर्दै भने, “फेरि उही पुराना नेताहरू आउने भन्छन्। केही थाहा नपाएका पुराना चाहिँ किन आएका त? हामी चाहिँ बुढा हुने, म भन्दा साढे तीन महिना कान्छी चाहिँ जित्नु सित्नु त्यसै प्रधानमन्त्री हुने? कुन जेनजीको सरकार हो यो? यो कुनै जेनजी र परिवर्तनको सरकार भएन।”
न्यायिक प्रक्रियाप्रति आशावादी
अध्यक्ष ओलीले सरकार गठन र प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले अदालतबाट पुनर्स्थापना हुने विश्वास व्यक्त गरे।
पार्टीको मुखपत्र नवयुगको विमोचन कार्यक्रममा अध्यक्ष ओलीले एमालेको नीति, सिद्धान्त र आगामी रणनीतिबारे पनि प्रकाश पारेका थिए।