बाल क्यान्सर उपचारलाई थप प्रभावकारी र परिवार केन्द्रित बनाउने प्रतिबद्धता
काठमाडौँ, २२ मङ्सिर । नेपालमा बालबालिकामा हुने क्यान्सरको उपचार र हेरचाहलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। कान्ति बाल अस्पतालको आयोजनामा सम्पन्न एक उच्चस्तरीय बैठकमा सहभागीहरूले बाल क्यान्सर हेरचाहलाई अझ करुणामय र परिवार केन्द्रित बनाउन सहकार्य विस्तार गर्ने बताएका हुन्।
‘क्यान्सर सर्भाइभरसिप’ तथा ‘पेडियाट्रिक प्यालियटिभ केयर’ (बाल चिकित्सा प्रशामक सेवा) विषयमा केन्द्रित उक्त बैठकले क्यान्सर जितेका बालबालिका, अभिभावक, चिकित्सक तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थालाई एकै मञ्चमा ल्याएको थियो। कार्यक्रममा क्यान्सर विजेताहरूको अनुभव र अभिभावकका चुनौती सुन्दै आगामी दिनमा चाल्नुपर्ने कदमबारे छलफल भएको आयोजकले जनाएको छ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, नेपाल बाल रोग विशेषज्ञ समाज, भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत विभिन्न बाल क्यान्सर उपचार इकाइका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको सहयोग तथा रमेश गुप्ता मेमोरियल ट्रस्ट र वर्ल्ड चाइल्ड क्यान्सरद्वारा सञ्चालित ‘ब्रेथ’ परियोजना अन्तर्गत आयोजित उक्त कार्यक्रममा स्वास्थ्यकर्मीहरूले प्यालियटिभ केयरसम्बन्धी प्रस्तुति समेत राखेका थिए।