प्राधिकरणमा हितेन्द्रदेव शाक्यको पुनर्वहाली: प्राधिकरणमै काम गर्ने भएकोले मेरो घर जल्यो

काठमाडौँ, २४ मङ्सिर । सर्वोच्च अदालतको आदेशपश्चात् नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली भएका हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल अझ बढी लगनशीलताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज प्राधिकरणमा हाजिर हुँदै पत्रकारहरूसँग कुरा गर्दै शाक्यले भने, “नेपाल सरकारको नीति निर्देशनअनुसार मेरो बाँकी कार्यकाल अझ बढी मिहिनेतका साथ काम गर्नेछु।” उनले ऊर्जा क्षेत्रमा आफ्नो र वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङको बुझाइ समानान्तर रहेकाले मिलेर काम गरे उल्लेख्य प्रगति हासिल गर्न सकिने स्पष्ट पारे।

शाक्यले भने, “३५ वर्षसम्म यस संस्थाका लागि देखेको आत्मनिर्भरताको सपना पूरा गर्न र संस्थालाई थप उचाइमा पुर्‍याउन साढे तीन वर्षमा सक्दो प्रयास गर्नेछु। ऊर्जामन्त्रीज्यू पनि यही संस्थाबाट जानुभएको हो। उहाँ र मेरो ऊर्जा क्षेत्रप्रतिको बुझाइ समानान्तर छ। आगामी दिनमा उहाँ र म मिलेर काम गर्‍यौँ भने उल्लेख्य प्रगति हात पार्न सक्छौँ।”

यसै सन्दर्भमा, शाक्यले प्राधिकरणमा काम गरेकै कारण ‘जेन-जी आन्दोलन’को क्रममा आफ्नो घर जलाइएको घटनाप्रति गुनासो समेत पोखे। उनले भने, “प्राधिकरणमै काम गर्ने भएकोले मेरो घर जल्यो। म पीडामा परेँ। तर त्यही पीडामा बस्दिनँ। म काममा अगाडि बढेँ। मुलुकको हितमा अधिकतम काम गर्छु।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *