कांग्रेसको दोहोरो सर्कुलर: पुस ११ भित्र क्रियाशील सदस्यता टुङ्ग्याउन र मापदण्डअनुसार उम्मेदवार सिफारिस गर्न निर्देशन
काठमाडौँ, २५ मङ्सिर । नेपाली कांग्रेसले आगामी १५ औँ महाधिवेशन र प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरी आफ्ना तल्लो तहका समितिहरूलाई महत्वपूर्ण निर्देशन जारी गरेको छ।
महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको विषय तत्काल टुङ्ग्याउन जिल्ला सभापतिहरूलाई परिपत्र गरेका छन् भने मुख्य सचिव कृष्णप्रसाद पौडेलले उम्मेदवार सिफारिस गर्दा तोकिएको मापदण्ड र संख्या पालना गर्न पुनः गम्भीर ध्यानाकर्षण गराएका छन्।
क्रियाशील सदस्यता टुङ्ग्याउन पुस ११ को डेडलाइन:
महामन्त्री थापाद्वारा जारी परिपत्रमा पार्टीको १५ औँ महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने निर्णय भएको जानकारी दिँदै सदस्यताको विषयमा केन्द्रित हुन निर्देशन दिइएको छ। परिपत्रमा भनिएको छ, “क्रियाशील सदस्यता नवीकरण नभएका र विवरण पठाउन बाँकी रहेका जिल्लाले अविलम्ब तहगत समन्वय गरी नवीकरण विवरण संकलन गरी वडादेखि जिल्ला कार्यसमितिको बैठकको निर्णयसहित नवीकरणको सूचीको अन्तिम नामावली र केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्कसहित कार्यतालिकामा तोकिएको मितिभित्रै केन्द्रमा पठाइसक्नु पर्नेछ।”
निर्धारित मितिभित्र नवीकरणको सूची केन्द्रमा पठाएपश्चात् कुनै पनि कारणबाट नवीकरण सदस्यता छुट हुन गएमा त्यस्ता छुट भएका व्यक्तिको छुट्टै नामावली तयार गरी सोको निर्णयसहित पुस ३ गतेभित्रमा अनिवार्य केन्द्रमा पठाउनुपर्ने उल्लेख छ।
नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार विधानबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै फारम पठाइएको पनि परिपत्रमा जानकारी गराइएको छ। “एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाले पौष १० गतेभित्र र दुई भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले पौष ११ गते सम्पूर्ण प्रक्रिया पूरा गरी नामावली प्रकाशन गरी केन्द्रमा पठाउनु पर्नेछ,” परिपत्रमा भनिएको छ।
मापदण्डविपरीत उम्मेदवार सिफारिस नगर्न चेतावनी:
यसैबीच, कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि अघिल्लो परिपत्रअनुसार नै उम्मेदवार सिफारिस गर्न मातहतका समितिहरूलाई कडा निर्देशन दिएको छ। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मापदण्डविपरीत उम्मेदवार सिफारिस गर्न लागेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार पुनः सर्कुलर जारी गर्दै तोकिएको मापदण्ड र संख्यामा उम्मेदवारको सिफारिस गर्न निर्देश गरेका हुन्।
“तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देश भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिस गर्नुहुन पुन: गम्भीर ध्यानाकर्षण गराइन्छ,” मुख्य सचिव पौडेलद्वारा जारी परिपत्रमा भनिएको छ।
कांग्रेसले यसअघि मङ्सिर १५ र १७ गते परिपत्र गरेर प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिसको मापदण्ड तोकेको थियो। अघिल्लो परिपत्रअनुसार, पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर सिफारिस गर्न भनिएको थियो।
यस्तै राष्ट्रियसभा सदस्यका लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग गरी प्राप्त नाम मध्येबाट एक सिटका लागि तीन जनाको नाम सहमति हुन सकेमा सहमतिअनुसार र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउने उल्लेख गरिएको थियो। तर, कांग्रेसका क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिहरू केन्द्रले निर्धारण गरेको मापदण्डविपरीत उम्मेदवारहरू सिफारिस गरिरहेको पाइएको छ।