एमाले महाधिवेशनको बन्दसत्र केही ढिलो सुरु हुने, भृकुटीमण्डपको सुरक्षा कडा

काठमाडौँ, २८ मङ्सिर । नेकपा (एमाले) को ११औँ महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ। उच्च सुरक्षा व्यवस्थासहित सुरु गर्न लागिएको बन्दसत्र निर्धारित समयभन्दा केही ढिलो हुने भएको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केही प्राविधिक तयारी भइरहेका कारण बिहान ८ बजे सुरु हुने पूर्व तालिकामा सामान्य ढिलाइ हुन लागेको हो।

बन्दसत्रस्थलको सुरक्षाका निम्ति नेपाल प्रहरीले २ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ। एमालेले सोही प्रयोजनका लागि अलग्गै स्वयंसेवक दस्ता निर्माण गरेको छ। सुरक्षालाई दृष्टिगत गर्दै भृकुटीमण्डप चौरको चारै दिशामा सर्वसाधारणको आवतजावत निषेध गरिएको छ। भृकुटीमण्डप चौरभित्र महाधिवेशनमा भाग लिन पाउने बाहेकका व्यक्तिलाई कडाइका साथ प्रवेश निषेध गरिएको छ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार महाधिवेशनका कारण सार्वजनिक सडक अवरोध नहुने भएको छ। भृकुटीमण्डपभित्र छिर्न बाहेक कुनै किसिमको सडक अवरोध नभएको उहाँले बताउनुभयो।