नेपाली शान्ति सैनिकको अदलीबदली: गोरखनाथ गणको टोली सेन्ट्रल अफ्रिकन रिपब्लिक प्रस्थान

काठमाडौँ, २९ मङ्सिर । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) को तेस्रो डफ्फालाई बदली गर्न गोरखनाथ गणका शान्ति सैनिकको टोली मिसन इलाका प्रस्थान गरेको छ।

चौथो डफ्फाका एक सय ७५ जना शान्ति सैनिकको पहिलो टोली आइतबार राति त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सोही अवसरमा उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका दुई सय २५ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भएका छन्।

हाल सेन्ट्रल अफ्रिकन रिपब्लिकस्थित उक्त मिसनमा नेपाली सेनाका कूल एक हजार एक सय ८९ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ। नेपालले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा लामो समयदेखि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।