एमालेको नेतृत्व चयनका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिँदै : आज मतदान

काठमाडौँ,  पुस १ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार हिजो राति उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भई उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भइसकेको छ ।

महाधिवेशनबाट ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोग गरी कुल ३५१ पदका लागि निर्वाचन हुनेछ । यस निर्वाचनमा देशभरबाट आएका कुल २ हजार २६३ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै, महासचिव पदमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ ।

एमालेले यसपटकको निर्वाचनलाई छिटो र व्यवस्थित बनाउन ८० वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्दैछ । मेसिनको व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार, अहिले मेसिनमा उम्मेदवारहरूको नाम प्रविष्टि (इन्ट्री) गर्ने काम भइरहेको छ ।

रिमालले भन्नुभयो, “हामी निर्धारित समयमै उम्मेदवारको नाम मेसिनमा राखेर आयोगलाई बुझाउने प्रयासमा छौँ, तर उम्मेदवारहरूको सङ्ख्या धेरै भएकाले मतदान सुरु हुन केही ढिलाइ हुन सक्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *