अत्यधिक चिसो बढेपछि गौर नगरपालिकाका विद्यालय चार दिन बन्द
रौतहट, ८ पुस । विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा चार दिनका लागि बिदा दिएको छ ।
नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै आज (मङ्गलबार) देखि आगामी पुस ११ गते शुक्रबारसम्मका लागि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
बाक्लो कुहिरो र शीतलहरका कारण पठनपाठनमा कठिनाइ हुनुका साथै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार यो बिदा विद्यालयको वार्षिक ‘बर्खे बिदा’ बाट कट्टा हुने गरी मिलाइएको छ ।
केही दिनयता तापक्रममा आएको गिरावट र चिसो हावाका कारण रौतहटसहित मध्य तराईको जनजीवन नराम्ररी प्रभावित भएको छ । चिसोका कारण विद्यार्थी, ज्येष्ठ नागरिक र मजदुरहरू बढी मर्कामा परेका छन् ।