वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे ३ खर्बको आयात, व्यापारमा १७ प्रतिशतको वृद्धि

पर्सा, ८ पुस । देशको मुख्य व्यापारिक नाका वीरगञ्जबाट हुने आयातमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा यस नाका हुँदै ३ खर्ब ५९ अर्ब २३ करोड रुपैयाँ बराबरका विभिन्न वस्तु तथा सामान भित्रिएका छन् ।

भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात १७ प्रतिशतले बढेको हो । गत आवको पाँच महिनामा ३ खर्ब ६ अर्ब १ करोड रुपैयाँको सामान आयात भएकोमा यस वर्ष ५३ अर्ब ३२ करोड रुपैयाँ बढीको सामान भित्रिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार आयात बढेसँगै राजस्व सङ्कलनमा पनि सकारात्मक प्रभाव परेको छ । “आयातको ग्राफ उकालो लाग्दा राजस्व सङ्कलनमा समेत उल्लेखनीय वृद्धि भएको छ,” उनले भने ।

कुन सामान कति भित्रिए ?
तथ्याङ्क अनुसार आयातित वस्तुहरूमध्ये पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो देखिएको छ । पाँच महिनाको अवधिमा ७२ अर्ब २८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तै अन्य प्रमुख आयातित वस्तुहरू यस प्रकार छन्:
फलाम तथा फलामजन्य सामग्री: ३१ अर्ब ६५ करोड रुपैयाँ
मेसिनरी तथा पार्टपुर्जा: २४ अर्ब ६० करोड रुपैयाँ
भटमासको कच्चा तेल: २२ अर्ब ८५ करोड रुपैयाँ
औद्योगिक कच्चा पदार्थ र इन्धनको आयात बढ्नुलाई बजारमा आर्थिक गतिविधि चलायमान हुँदै गएको सङ्केतका रूपमा लिइएको छ ।