शीतलहरले सिरहाको जनजीवन कष्टकर: बजारका चोकचोकमा दाउरा बाल्न सुरु, विपन्नलाई सिरक बाँडिँदै

सिरहा, ९ पुस । केही दिनदेखि चलेको अत्यधिक शीतलहर र चिसो हावाका कारण सिरहाको जनजीवन नराम्ररी प्रभावित भएको छ । चिसोका कारण लहान बजारसहित ग्रामीण क्षेत्रका सर्वसाधारणको दैनिक क्रियाकलाप कष्टकर बनेको हो ।

शीतलहरको सबैभन्दा बढी असर बालबालिका, वृद्धवृद्धा र विपन्न समुदायमा देखिएको छ । चिसोकै कारण विद्यालयहरूमा विद्यार्थीको उपस्थिति समेत उल्लेख्य रूपमा घटेको छ ।

बढ्दो चिसोबाट नगरवासीलाई जोगाउन लहान नगरपालिकाले आज बिहानैदेखि बजारका विभिन्न सार्वजनिक चोकहरूमा दाउरा बाल्ने व्यवस्था मिलाएको छ । नगर प्रमुख महेशप्रसाद चौधरीका अनुसार राधाकृष्ण चोक, गणेशचोक, हनुमानस्थान, हुलाक चोक र ग्रामीण चोकलगायतका स्थानमा सर्वसाधारणका लागि दाउरा वितरण गरिएको छ ।

“चिसोबाट कसैको ज्यान जोखिममा नपरोस् भनेर हामीले तत्काल राहतका कार्य अघि बढाएका हौँ,” नगर प्रमुख चौधरीले भन्नुभयो, “नगरका २४ वटै वडामा आवश्यकता अनुसार दाउरा पठाउने तयारी भइरहेको छ । साथै, ५०० अति विपन्न परिवारलाई फाइबरको सिरक वितरण गर्ने प्रक्रिया पनि सुरु गरेका छौँ ।”

अत्यधिक चिसोका कारण विद्यालय आउने बालबालिकाको संख्यामा कमी आएको छ । माध्यमिक विद्यालय पडरिया थारू टोलका प्रधानाध्यापक मनोज यादवका अनुसार न्यानो लुगाको अभावमा विपन्न परिवारका बालबालिकाहरू विद्यालय आउन नसकेका हुन् । चिसो हावाका कारण कक्षाकोठामा बसेर पढ्न कठिन भएपछि विद्यार्थीको उपस्थिति पातलिएको उहाँले बताउनुभयो ।

चिसो छल्न डिभिजन वन कार्यालय लहानले पनि आर्थिक सहयोग र दाउरा व्यवस्थापनमा तत्परता देखाएको छ । कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार जिल्लाका मुख्य बजारहरूमा दाउरा उपलब्ध गराउन ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसैबीच, शीतलहरको प्रकोपलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भइरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जिल्लाका १७ वटै स्थानीय तहसँग समन्वय गरी न्यानो कपडा र दाउरा वितरणलाई व्यवस्थित बनाउन लागिएको जानकारी दिनुभयो ।

अहिले सिरहाका स्थानीयवासीहरू बिहानैदेखि घुर (आगो) तापेर चिसो छल्ने प्रयास गरिरहेका छन् । स्थानीय प्रशासनले चिसोबाट बच्न सतर्कता अपनाउन र तातो खानेकुरा खान सर्वसाधारणलाई आग्रह गरेको छ ।