कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा जारी: महाधिवेशन कार्यतालिका र राष्ट्रियसभा निर्वाचनबारे छलफल
काठमाडौँ, ९ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको आगामी महाधिवेशनको तयारी र राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको छ ।
बैठकको मुख्य एजेण्डा पार्टीको आगामी महाधिवेशनको तयारी रहेको छ । कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने पूर्वनिर्धारित निर्णय गरे तापनि तयारीमा निकै ढिलाइ भएको छ । विशेषगरी, पार्टीको मेरुदण्ड मानिने ‘क्रियाशील सदस्यता’ को टुङ्गो अझै लाग्न सकेको छैन ।
निर्धारित कार्यतालिका अनुसार काम अघि बढ्न नसकेकाले आजको बैठकले महाधिवेशनको मिति वा कार्यतालिकामा आवश्यक हेरफेर गर्न सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्डबारे पनि प्रारम्भिक छलफल सुरु भएको छ । पार्टीले कस्ता व्यक्तिलाई प्राथमिकता दिने र अन्य दलहरूसँगको समन्वय कसरी गर्ने भन्ने विषयमा कार्यसम्पादन समितिले ठोस खाका तयार पार्ने बताइएको छ ।