मुटु अस्पताल धराशायी

सरकारले १७ करोड भुक्तानी नदिएपछि माघ १ देखि निःशुल्क सेवा बन्द हुने चेतावनी

काठमाडौँ, पुस ९ । विपन्न नागरिकको निःशुल्क उपचार गर्दै आएको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल गम्भीर आर्थिक सङ्कटमा फसेको छ । सरकारले ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’ अन्तर्गतको करिब १८ करोड रुपैयाँ भुक्तानी नगर्दा अस्पतालले आगामी माघ १ गतेदेखि मुटु र मिर्गौलाका बिरामीलाई प्रदान गर्दै आएको निःशुल्क सेवा बन्द गर्ने घोषणा गरेको छ ।

अस्पतालले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी पुस मसान्तसम्म बक्यौता रकम प्राप्त नभएमा मुटुका बिरामीका लागि दिइने १ लाखसम्मको सहुलियत र मिर्गौलाका बिरामीको निःशुल्क डायलाइसिस सेवा पूर्ण रूपमा रोक्न बाध्य हुने जानकारी दिएको हो ।

अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार चालु आर्थिक वर्षमा मुटु र मिर्गौलाका बिरामीको उपचार गरेबापत सरकारबाट पाउनुपर्ने कुल २० करोड ३९ लाख ३१ हजार ८७९ रुपियाँमध्ये हालसम्म मात्र २ करोड ५८ लाख २२ हजार ५०० रुपियाँ प्राप्त भएको छ । बाँकी १७ करोड ८१ लाख ९ हजार ३७९ रुपियाँ भुक्तानी नहुँदा अस्पतालले औषधि र उपकरण खरिद गर्न नसकेको र कर्मचारीको तलब खुवाउन समेत समस्या परेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष आलमले भन्नुभयो, “हामीले ऋण गरेर भए पनि अहिलेसम्म सेवा रोकेका छैनौँ, तर अब औषधि र उपकरणको आयात नै ठप्प हुने अवस्था आएको छ । सरकारले भुक्तानीमा चासो नदिए माघ १ देखि हात उठाउनुको विकल्प छैन ।” गैरनाफामुखी यस संस्थाले आफ्नै भवन नहुँदा मासिक ठूलो रकम भाडामा समेत खर्च गर्नुपरेको छ ।

४२ जिल्लाका विपन्न नागरिकको ‘आशाको केन्द्र’ मानिएको यो अस्पताल बन्द हुने अवस्थामा पुग्दा हजारौँ बिरामीको ज्यान जोखिममा पर्ने देखिएको छ । नागरिक समाज र अधिकारकर्मीहरूले सरकारलाई तत्काल भुक्तानी गरी सेवा सुचारु गर्ने वातावरण मिलाउन माग गरेका छन्