त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज

कीर्तिपुर, १० पुस । देशको जेठो र ठूलो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज भव्यताका साथ आयोजना गरिँदैछ । यसपटकको दीक्षान्त समारोह त्रिविको इतिहासमै विशेष रहनेछ, किनकि पहिलोपटक कुनै नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको छ ।

समारोहमा सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गर्नुभएका जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । टोकियो विश्वविद्यालयसँग आबद्ध प्रा. काजिता बुधबार नै काठमाडौँ आइपुग्नुभएको छ ।

उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्त समारोहका लागि कीर्तिपुरस्थित खेलकुद मैदानमा मण्डप निर्माण र सुरक्षा व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको छ । समारोहमा दीक्षित हुने विद्यार्थी र उनीहरूका अभिभावक गरी करिब ४१ हजार मानिसको उपस्थिति रहने अनुमान गरिएको छ ।

यस वर्ष त्रिविबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य (MPhil) र विद्यावारिधि (PhD) तह पार गरेका कुल ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका छन् । कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई विभिन्न पदक तथा पुरस्कारबाट विभूषित गरिनेछ ।

त्रिविको तथ्याङ्क अनुसार यसपटक व्यवस्थापन सङ्कायबाट सबैभन्दा बढी ४३ हजार ६१० जना उत्तीर्ण भएका छन् । यस्तै शिक्षातर्फ १६ हजार ४६७, मानविकीमा १४ हजार ८५१ र कानुन सङ्कायबाट २ हजार ३३५ विद्यार्थी उत्तीर्ण भएका छन् ।