विद्यार्थीको स्वास्थ्य सुधार्ने नर्सहरू आफैँ मारमा
काठमाडौँ, पुस १० । बागमती प्रदेश सरकारको महत्त्वाकाङ्क्षी योजना ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत कार्यरत नर्सहरू आफैँ विभिन्न समस्याबाट गुज्रिरहेको पाइएको छ । विद्यार्थीको स्वास्थ्य र मनोपरामर्शको जिम्मेवारी सम्हालेका नर्सहरूले दरबन्दीको अनिश्चितता, न्यून पारिश्रमिक र कार्यस्थलमा न्यूनतम पूर्वाधारसमेत नभएको भन्दै गुनासो गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा बुधबार आयोजित समीक्षा कार्यक्रममा सहभागी नर्सहरूले विद्यालय प्रशासनको असहयोग र कार्यगत असुरक्षाका कारण आफूहरू मानसिक दबाबमा रहेको बताए ।
दरबन्दीको अभाव, न्यून सेवा-सुविधा र कार्यस्थलको प्रतिकूल वातावरणले नर्सहरू समस्यामा, ५४ करोडको बजेट हुँदा पनि कार्यान्वयन फितलो
आदर्शशौल माध्यमिक विद्यालयकी नर्स सरस्वती शाक्यले शिक्षा र स्वास्थ्य क्षेत्रबीच समन्वय नहुँदा काम गर्ने वातावरण नभएको उल्लेख गर्नुभयो । यस्तै, बालकुमारी माविकी नर्स अनु तिमल्सिनाले विद्यालयमा प्राथमिक उपचारका लागि व्यवस्थित कक्ष र बालमैत्री शौचालयसमेत नभएको पीडा सुनाउनुभयो । “हरेक ६ महिनामा करार नवीकरण गर्नुपर्ने झन्झट छ, न त बस्ने ठाउँ छ न पर्याप्त उपचार सामग्री,” उहाँले भन्नुभयो ।
अन्य नर्सहरूका अनुसार एकै जना नर्सले एक हजारभन्दा बढी विद्यार्थी हेर्नुपर्ने बाध्यता छ। यति ठूलो कार्यभार भए पनि सेवा सुविधा र वृत्ति विकासमा राज्यले ध्यान नदिएको उनीहरूको सामूहिक गुनासो छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले नर्सहरूले ज्यान बचाउने जस्तो संवेदनशील काम गरे पनि उनीहरूको आफ्नै अवस्था नाजुक रहेको स्वीकार गर्नुभयो । उहाँका अनुसार बागमती प्रदेशले यस वर्ष यो कार्यक्रमका लागि ५४ करोड रुपैयाँ विनियोजन गरेको छ र हाल १३ जिल्लाका ८४८ विद्यालयमा यो कार्यक्रम सञ्चालित छ ।
“निर्णय गर्ने ठाउँमा विज्ञ नहुँदा कार्यविधिमा केही कमजोरी देखिएका छन्,” डा. गेलालले भन्नुभयो, “अब कार्यविधि परिमार्जन गरी नर्सहरूको सेवा सुविधा र कार्यस्थलको सुधारमा ध्यान दिइनेछ ।”
तथ्याङ्कमा एक विद्यालय एक नर्स (ललितपुर)
कुल विद्यालय (कार्यक्रम लागू): ५४
हाल कार्यरत नर्स: ४५ जना
सुरुवात: आव २०७५/७६ (२० विद्यालयबाट)
वर्तमान विस्तार: ८४८ विद्यालय (प्रदेशभर)
महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जीवी पौडेल र बागमती गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रेमकुमार पुरीले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकसँग समन्वय गरी नर्सहरूका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रम प्रभावकारी देखिए पनि नर्सहरूको वृत्ति विकास र कार्यस्थलको व्यवस्थापन नगरे यो कार्यक्रमको दिगोपनमा प्रश्न उठ्ने सरोकारवालाहरूको ठहर छ ।