सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान हस्तान्तरण गरिदै, मिडिया फुटसल पनि हुने

काठमाडौं, पुस १० गते ।नेवाः पत्रकार राष्ट्रिय दबुले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको ११० औं जन्मजयन्तीको अवसरमा दुईजना बरिष्ठ पत्रकारलाई सम्मान गर्ने भएको छ ।

लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान दिइरहनु भएका बरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्यलाई “सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान” र गोरखापत्र दैनिकका उपसम्पादक प्रकृति अधिकारीलाई “सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार” प्रदान गरिन लागेको हो ।

दुवै पत्रकारलाई दबूले यहि आउँदो पुस १२ गते शनिबार ललितपुर मानभवनस्थित आदर्श विद्या मन्दिरमा हुने जन्मजयन्ती कार्यक्रममा सम्मानित गर्ने पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जनाउनु भयो । उहाँले पत्रकारिता मार्फत समतामूलक समाज निर्माण र सकारात्मक परिवर्तनको लागि खेल्नुभएको भूमिकालाई मूल्यांकन गर्दै सम्मान गर्न लागेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको रुपमा श्रेष्ठलाई स्थापित गर्न पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दैआएको कार्यक्रम संयोजक राजु नापितले वताउनु भयो ।

श्रेष्ठको नेतृत्वमा २००८ वैशाख ९ गते नेपाली पत्रकारहरुकै सबभन्दा पहिलो पेशागत संगठनको रुपमा नेपाल पत्रकार संघ गठन भएको थियो । समग्र पत्रकारलाई संगठित गर्ने उद्देश्यले संघ गठन भएको एक वर्षपछि २००९ वैशाख २८ गते श्रेष्ठकै नेतृत्वमा संघ पुनर्गठन भएको इतिहास छ । नेपाल टुडेका सम्पादक समेत रहेका श्रेष्ठको नेतृत्वमा गठन भएको पत्रकार संघलाई कालान्तरमा नेपाल पत्रकार महासंघ बनाएको हो । तर तथ्यलाई तोडमोड गरी २०१२ चैत १६ गते पुनर्गठन गरिएको महासंघमा नेपाल पुकारका सम्पादक एवं सन्त नेता कृष्णप्रसाद भट्टराई उपाध्यायको नाम अध्यक्षको रुपमा उल्लेख रहेको छ ।

जन्मजयन्ती मनाउने क्रममा पत्रकार राष्ट्रिय दबूले सोही दिन तेस्रो सत्यनारायण बहादुर श्रेष्ठ मिडिया कप फुटसल प्रतियोगिता ११४६ गर्ने भएको छ । संस्थापक अध्यक्षलाई न्ययोचित ढंगले राज्यले अपनत्व ग्रहण गराउने दबूको अभियानलाई प्रवद्र्धन गर्न विगत तीन बर्ष देखि फुटसल प्रतियोगिता आयोजना गर्दै आएको संयोजक प्रजित शाक्यले वताउनु भयो । पत्रकार, कलाकार तथा अन्य पेशागत संघसस्थामा आवद्ध रहेका खेलप्रेमीहरुको सहभागितामा तीन वर्षदेखि फुटसल प्रतियोगिता हुँदैआएको छ ।