म्याग्दीमा एक शताब्दी पुरानो कोल: पुर्खाको विरासत जोगाउँदै नाति पुस्ता

म्याग्दी, ११ पुस । म्याग्दीको मङ्गला गाउँपालिकाका किसानहरूले पुर्खाले सुरु गरेको एक सय वर्ष पुरानो परम्परागत प्रविधिलाई अझै जीवितै राखेका छन् । आधुनिक विद्युतीय उपकरणको विकास भए पनि यहाँका किसानहरूले हलगोरुको सहायताले उखु पेल्ने ‘कोल’ को प्रयोगलाई निरन्तरता दिएका हुन् ।

मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले झन्डै एक शताब्दीअघि भारतको कोलकाताबाट यो कोल भित्र्याउनुभएको थियो । अहिले उहाँका छोरा–नातिहरूले यसलाई संरक्षण गर्दै हरेक वर्ष पुस र माघ महिनामा उखु पेल्ने कार्य गरिरहेका छन् । रामबहादुरका नाति ध्रुव खत्रीका अनुसार त्यसबेला यो कोलका पाटपुर्जाहरू नाउडाँडाबाट भरियाले पाँच दिन लगाएर बोकेर ल्याएका थिए ।

कोलमा उखु पेल्नका लागि मङ्गला गाउँपालिकाका विभिन्न गाउँका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट समेत किसानहरू आउने गरेका छन् । यहाँ १० लिटर रस पेलेबापत १०० रुपैयाँ शुल्क तोकिएको छ ।

परम्परागत रूपमा उखुको रस पकाएर बनाइने ‘खुदो’ स्वास्थ्यका लागि हितकर हुनुका साथै धार्मिक कार्यमा पनि अनिवार्य मानिन्छ । स्थानीय श्रीकृष्ण पौडेलका अनुसार खुदोलाई घाँटी दुखेको बेला वा बिरामी गाईभैँसीलाई औषधिको रूपमा खुवाउने चलन छ । विद्युतीय मेसिनभन्दा कोलमा पेलेको उखुको रस बढी शुद्ध र स्वस्थ हुने उपभोक्ताहरूको विश्वास छ ।

पछिल्लो समय चिनीको सहज उपलब्धता भए पनि गाउँघरमा विवाह, व्रतबन्ध र चाडपर्वमा लड्डु तथा कसार बनाउन खुदो नै खोजिने गरिन्छ । पुर्खाले जोडिदिएको यो कोलले गाउँलेलाई सेवा मात्र दिएको छैन, म्याग्दीको पुरानो मौलिक पहिचानलाई पनि जोगाइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *