उपमेयर सुनिता डंगोलको नाममा ‘फेक अकाउन्ट’ बनाएर ठगीको प्रयास, सचेत रहन आग्रह
काठमाडौँ, ११ पुस । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएपमार्फत आर्थिक ठगीको प्रयास भएको छ ।
उपप्रमुख डंगोलको नक्कली पहिचान बनाएर सर्वसाधारणसँग पैसा मागिएको तथ्य फेला परेपछि उहाँले सामाजिक सञ्जालमार्फत सचेत गराउनुभएको हो ।
स्क्यामरहरूले उपप्रमुख डंगोलको फोटो प्रयोग गरी ह्वाट्सएप खाता खोलेर आफू अप्ठ्यारोमा परेको बहाना बनाउँदै विभिन्न व्यक्तिहरूलाई ई–सेवाको क्यूआर कोड पठाएर रकम माग गर्ने गरेको पाइएको छ । डंगोलले सो नक्कली खाता र नम्बरको स्क्रिनसट सार्वजनिक गर्दै त्यस्ता सन्देशको विश्वास नगर्न आग्रह गर्नुभएको छ ।
घटनाबारे जानकारी दिँदै उपप्रमुख डंगोलले लेख्नुभएको छ, “मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । यो म होइन र यो मेरो नम्बर पनि होइन । कृपया यस्तो सन्देश आएमा पैसा नपठाउनुहोस् र कुनै पनि प्रतिक्रिया नदिनुहोस् ।”
आफ्नो नाममा भएको यस प्रकारको साइबर अपराधबारे उहाँले नेपाल प्रहरी र नेपाल दूरसञ्चार प्राधिकरण लगायतका निकायमा जानकारी गराई कानुनी प्रक्रिया अगाडि बढाइसकेको बताउनुभएको छ ।
पछिल्लो समय उच्च पदस्थ व्यक्ति र जनप्रतिनिधिहरूको नाममा सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएर सर्वसाधारणलाई ठग्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले कुनै पनि आर्थिक कारोबार गर्नुअघि आधिकारिकता पुष्टि गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।