‘स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारी र गैरसरकारी सहकार्य अनिवार्य’ – पूर्वराष्ट्रपति यादव
काठमाडौँ, पुस ११ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशको स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार ल्याउन सरकारी र गैरसरकारी निकाय बिच घनिष्ठ सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बिग्रँदो जनस्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै उहाँले नागरिकलाई आफ्नै खेतबारीमा उत्पादित अर्गानिक खाद्यान्न सेवनमा जोड दिन आग्रह गर्नुभएको छ ।
धनुषाको हंसपुर नगरपालिका-६ टिल्हीस्थित तपसी बाबा विद्यालयमा शुक्रबार आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै डा. यादवले भन्नुभयो, “समाज सेवाभन्दा ठूलो धर्म अरू केही छैन । दुर्गमका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउन यस्ता शिविरहरू कोशेढुङ्गा सावित हुनेछन् ।” उहाँले स्वास्थ्य अवस्था सुधार्न जीवनशैली र खानपानमा सुधार ल्याउनुपर्नेमा विशेष जोड दिनुभयो ।
धनुषाको हंसपुरमा नेपाल–भारतका विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर सुरु : स्वदेशी उत्पादन र घरकै खाद्यान्न सेवन गर्न सुझाव
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले दुर्गम क्षेत्रका गरिब जनतालाई लक्षित गरी विशेषज्ञ चिकित्सकसहितको शिविर आयोजना हुनु सराहनीय भएको बताउनुभयो । शिविरका आयोजक एवं समाजसेवी गङ्गाराम यादवले यस क्षेत्रका विपन्न नागरिकहरू सामान्य उपचारका लागि पनि काठमाडौँ वा भारत धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै शिविरले उनीहरूलाई आर्थिक र शारीरिक दुवै हिसाबले राहत दिने विश्वास व्यक्त गर्नुभयो ।
हंसपुर नगरपालिकाकी उपप्रमुख दुर्गीदेवी मण्डलले नेपाल र भारतका वरिष्ठ चिकित्सकहरूको सहभागिताले शिविरको गरिमा बढाएको र स्थानीयले यसबाट अधिकतम लाभ लिनुपर्ने बताउनुभयो ।
शनिबारसम्म सञ्चालन हुने उक्त शिविरमा मुटु, मिर्गौला, स्त्री रोग, बाँझोपन, बालरोग, नाक, कान, घाँटी, हाडजोर्नी र आँखा सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिँदैछ । शिविरमा बिरामीहरूको सामान्य स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधिहरू समेत निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. दिग्विजयकुमार ठाकुर, वरिष्ठ चिकित्सक डा. गौराङ्ग मिश्र, जनकपुरधामका पूर्वनगरप्रमुख बजरङ्गप्रसाद साह र प्रधानाध्यापक मदनकुमार महरालगायतले स्वास्थ्य सचेतना र सामाजिक उत्तरदायित्वका बारेमा चर्चा गर्नुभएको थियो ।