मानवता प्रवर्धन अभियान

१ वर्षमा झापाका १२१ जना सहयोगापेक्षीको उद्धार

काठमाडौँ, पुस १२ । झापाको मेचीनगर नगरपालिका-४ बाहुनडाँगीमा सञ्चालित मानव सेवा आश्रम (झापा शाखा) सडकमा बेवारिसे र कष्टपूर्ण जीवन विताउन बाध्य व्यक्तिहरूका लागि भरोसाको केन्द्र बनेको छ । आश्रमले सञ्चालनको एक वर्षभित्रै १२१ जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरी उनीहरूलाई नयाँ जीवन प्रदान गरेको छ ।

आश्रमको वार्षिक प्रतिवेदनअनुसार, उद्धार गरिएकामध्ये ३० जनालाई आवश्यक उपचार र परामर्शपछि उनीहरूको पारिवारिक पहिचान खुलाएर घर फिर्ता (पुनर्मिलन) गराइएको छ । हाल आश्रममा ७२ जनाले आश्रय लिइरहेका छन् । आश्रमले सडकबाट उद्धार गरिएकाहरूको पालनपोषण, स्वास्थ्य उपचार र मनोवैज्ञानिक परामर्शलाई प्राथमिकता दिँदै आएको छ ।

मेचीनगरमा सञ्चालित आश्रमद्वारा ३० जनाको सफल पारिवारिक पुनर्मिलन; ७२ जना अझै संरक्षणमा

आश्रमका शाखा संयोजक खगेन्द्र विश्वकर्माका अनुसार, २०८१ मङ्सिर २३ गते औपचारिक रूपमा १७ औँ शाखाको रूपमा स्थापना भएको यस केन्द्रले एक वर्षमा ५४ लाख ८१ हजार ९१५ रुपियाँ खर्च गरेको छ । सोही अवधिमा सेवा आम्दानीतर्फ ५४ लाख ६९ हजार ५५७ रुपियाँ र पुँजीगततर्फ ३२ लाख ६६ हजार ३४८ रुपियाँ संकलन भएको छ ।

पारदर्शितालाई जोड दिँदै आश्रमले आफ्नो कुल सम्पत्ति २ करोड २६ लाख ७१ हजार ११८ रुपियाँ रहेको सार्वजनिक गरेको छ । जसमा अक्षयकोषमा २ लाख ५२ हजार, बैंक मौज्दात ९ लाख २७ हजार र नगद मौज्दात २१ हजार रुपियाँ रहेको उल्लेख छ ।

स्थानीय समाजसेवी रामबहादुर प्रधानको परिवारले दान दिएको २ बिघा ५ कट्ठा जग्गामा आश्रमको आफ्नै भवन निर्माण गरी सेवा सञ्चालन गरिएको छ । “सडकमा कोही पनि बेसहारा हुनु नपरोस् भन्ने उद्देश्यले हामीले काम गरिरहेका छौँ,” संयोजक विश्वकर्माले भन्नुभयो, “दाताहरूको सहयोग र स्थानीयको सद्भावले गर्दा नै हामीले यति धेरैको उद्धार र पुनर्मिलन गराउन सफल भएका हौँ ।”

आश्रमले सडक र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका मानिसहरूलाई उद्धार गर्ने कार्यलाई निरन्तरता दिने र आगामी दिनमा सेवाको दायरा अझ फराकिलो बनाउने लक्ष्य राखेको छ ।