फागुन २१ को निर्वाचनका लागि अन्तिम नामावली सार्वजनिक : सवा ९ लाख मतदाता थपिए

 

काठमाडौँ, पुस १३ ।  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यसपटक देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम भएका छन् ।

गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तुलनामा यसपटक ९ लाख १५ हजार ११९ मतदाता थपिएका हुन् । अघिल्लो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७८ लाख ८८ हजार ५७० रहेको थियो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल मतदातामध्ये पुरुषको संख्या ९६ लाख ६३ हजार ३५८, महिलाको संख्या ९२ लाख ४० हजार १३१ र अन्य लिंगीको संख्या २०० रहेको छ । आयोगले यो नामावली आफ्नो आधिकारिक वेबसाइटमा समेत उपलब्ध गराएको छ ।

‘मतदाता नामावली ऐन, २०७३’ को दफा २० बमोजिम अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ को व्यवस्था अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूलाई मतदानका लागि योग्य मान्दै नामावलीमा समावेश गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

मतदान केन्द्र र स्थलको टुंगो
आयोगले आसन्न निर्वाचनका लागि मतदानस्थल र केन्द्रहरूको संख्या पनि निर्धारण गरेको छ । जसअनुसार देशभर कुल १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र रहनेछन् ।

निर्वाचनको तयारीलाई तीव्र पारेको आयोगले मतदाता नामावली प्रकाशनसँगै अब चुनावी प्रक्रियाका अन्य प्राविधिक र व्यवस्थापकीय कार्यलाई अघि बढाउने बताएको छ ।