‘आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुनु नपर्ने अवस्था बनाउँछौँ’ – उपप्रमुख डंगोल
काठमाडौँ, पुस १८ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरवासीले अब आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ८ स्थित जयबागेश्वरीमा आज आयोजित एक्स–रे सेवा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।
उपप्रमुख डंगोलले नागरिकको घरदैलोमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु महानगरको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै भन्नुभयो, “माग र आवश्यकताका आधारमा हामीले स्वास्थ्य सेवालाई थप विस्तार र सुदृढ बनाउँदै लगेका छौँ । अब कुनै पनि नागरिकले पैसाको अभाव वा पहुँचको कमीका कारण आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने अवस्था हामी सिर्जना गर्छौँ ।”
महानगरपालिकाले वडा तहबाटै पहिलो पटक सुरु गरेको यस एक्स–रे सेवाको उपप्रमुख डंगोल र वडा नं. ८ का अध्यक्ष एवं महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । वडा कार्यालय परिसरमा ३२ लाख रुपैयाँको लागतमा जडान गरिएको अत्याधुनिक डिजिटल मेसिनमार्फत अब नागरिकले मात्र १५० रुपैयाँमा एक्स-रे सेवा प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रममा वडाध्यक्ष आशामान संगतले वडाले प्रदान गर्ने स्वास्थ्य सेवामा यो एक महत्वपूर्ण उपलब्धि भएको बताउँदै सार्वजनिक स्वास्थ्य सेवालाई अझ बलियो बनाउन प्रविधि र जनशक्ति थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महानगरपालिकाले वडा नं. ८ बाट सुरु भएको यस सेवालाई छिट्टै अन्य १० वटा वडाहरूमा विस्तार गर्ने योजना अघि सारेको छ । महानगरको स्वास्थ्य विभागका अनुसार वडा नं. ७, ८, १०, १२, १४, १६, १९, २६, २७ र ३२ मा एक्स–रे सेवा जडानका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको छ र यसका लागि १० जना रेडियोग्राफर नियुक्त भइसकेका छन् ।
रामघाट प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गत रहने यो सेवा हप्ताको सातै दिन उपलब्ध हुनेछ भने प्रत्येक शुक्रबार भिडियो एक्स–रे (USG) सेवा समेत सञ्चालन गरिने स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले जानकारी दिनुभयो ।
उद्घाटनपश्चात् उपप्रमुख डंगोल र वडाध्यक्ष संगतले रामघाट प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो । सो अवसरमा स्वास्थ्यकर्मीहरूले सेवाग्राहीको चाप बढेकाले पूर्वाधार विस्तार र नयाँ भवन निर्माणको आवश्यकता औँल्याएका थिए ।