बागमतीमा निःशुल्क आँखा शिविर : साढे ३ सयको मोतियाबिन्दु शल्यक्रिया गरिँदै
बरहथवा (सर्लाही) । सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा ३५० भन्दा बढी व्यक्तिको मोतियाबिन्दुको शल्यक्रिया गरिने भएको छ।
बागमती नगरपालिका, स्थानीय तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालित यस शिविरको पहिलो दिन ७९ जनाको सफल शल्यक्रिया सम्पन्न भएको छ।
नगर स्वास्थ्य शाखाका सहसंयोजक आनन्दमोहन झाका अनुसार तिलगङ्गा आँखा प्रतिष्ठानले प्राविधिक सहयोग उपलब्ध गराएको छ भने नगरपालिकाले बिरामीहरूका लागि खान र बस्नको उचित प्रबन्ध मिलाएको छ। शिविरमा सहभागी ७७ वर्षीय स्थानीय वीरबहादुर खड्काले गाउँघरमै निःशुल्क उपचार पाउँदा आफूहरू जस्ता गरिब नागरिकलाई ठूलो राहत मिलेको र नयाँ दृष्टि पाएको भन्दै खुसी व्यक्त गर्नुभयो।
टोली नेता डा. रचना सिंहका अनुसार जिल्लामा सर्जिकल आँखा केन्द्र स्थापना भएपछि ग्रामीण भेगका नागरिकलाई लक्षित गरी यस्ता शिविरहरूलाई निरन्तरता दिइएको हो। आयोजकले शिविरमा आउने बिरामीहरूलाई शल्यक्रियाका साथै निःशुल्क औषधि र अन्य आवश्यक सामग्रीसमेत वितरण गरिरहेको छ।