नगरकोटमा पिकनिक गएर फर्केको बस शंखरापुरमा दुर्घटना: ४ जनाको मृत्यु, मृतकको सङ्ख्या बढ्न सक्ने
काठमाडाैं, २३ पुस । काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा नजिकै बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
नगरकोटबाट पिकनिक खाएर फर्किँदै गरेका सञ्चारकर्मी तथा सर्वसाधारण सवार महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस सडकबाट अनियन्त्रित भई फेदी जङ्गल क्षेत्रमा खसेको हो ।
प्रहरी प्रभाग साँखुका प्रमुख, प्रहरी निरीक्षक रमेश थापाका अनुसार गम्भीर घाइते अवस्थामा नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याइएका मध्ये चार जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएका छन् । ३५ देखि ४० जना सवार रहेको उक्त बसमा कतिपयको अवस्था अत्यन्तै चिन्ताजनक रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का प्रहरीले गरेको छ ।
घाइतेमध्ये पाँच जनाको सुष्मा कोइराला मेमोरियल अस्पताल र चार जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । अन्य गम्भीर घाइतेहरूलाई थप उपचारका लागि नेपाल मेडिकल कलेज (एनएमसी) रिफर गरिएको छ ।
दुर्घटनाग्रस्त बस जङ्गलको खोँचमा रहेकाले उद्धार र खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । रातको समय र जङ्गल क्षेत्र भएका कारण उद्धार टोलीले क्रेन र अन्य उपकरणको प्रयोग गरी खोजी कार्यलाई तीव्रता दिएको छ । दुर्घटनाको ठोस कारण नखुले पनि तीव्र गति वा प्राविधिक समस्या हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।