जाडोमा इन्फ्लुएन्जा (फ्लू) को जोखिम

इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमणबाट बच्न उच्च सतर्कताको खाँचो

काठमाडौँ, पुस २४ । देशभर जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमणको जोखिम उच्च हुने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन विशेष आग्रह गरेको छ । मौसमी परिवर्तनसँगै सक्रिय हुने इन्फ्लुएन्जा भाइरसले सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने भए पनि विशेष वर्ग बढी जोखिममा रहने मन्त्रालयको ठहर छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा सङ्क्रमणको सम्भावना बढी हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फ्लू एक तीव्र सङ्क्रामक रोग हो । अधिकांश बिरामी घरमै आराम गर्दा निको हुने भए तापनि दीर्घरोगी र जोखिम समूहका व्यक्तिहरूमा यसले जटिल अवस्था निम्त्याउन सक्ने भएकाले उनीहरूलाई स्वास्थ्यकर्मीको नियमित निगरानीमा राख्नुपर्दछ ।”

मन्त्रालयका अनुसार फ्लू सङ्क्रमित व्यक्तिले बोल्दा, खोक्दा वा हाच्छिउँ गर्दा निस्कने मसिना छिटाहरू नजिकको व्यक्तिको नाक वा मुखमा परेमा यो भाइरस सर्दछ । यस्तै, भाइरस रहेको सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि सङ्क्रमण हुन सक्ने प्रवक्ता बुढाथोकीले स्पष्ट पार्नुभयो ।

फ्लू भएमा सामान्यतया अकस्मात् ज्वरो आउन र टाउको दुख्न सक्छ । जीउ र मांसपेशीमा पीडा महसुस हुनु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, अत्यधिक थकान महसुस हुन सक्छ ।


सङ्क्रमणबाट बच्न मन्त्रालय सङ्क्रमित व्यक्तिबाट आवश्यक भौतिक दूरी कायम गर्ने, बिरामी हुँदा घरमै बसेर आराम गर्ने र अन्यको सम्पर्कमा नआउने, खोक्दा वा हाच्छिउँ गर्दा नाक र मुख रुमाल वा कुहिनोले छोप्ने जस्ता सुरक्षात्मक उपाय अपनाउनु पर्छ । साबुनपानीले बेलाबेलामा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने,  हातले अनावश्यक रूपमा आँखा, नाक वा मुख नछुने, शारीरिक रूपमा सक्रिय रहने, प्रशस्त तरल पदार्थ पिउने र पौष्टिक आहार सेवन गर्ने उपायले फ्लुको संक्रमणबाट बच्न सकिन्छ । 

मन्त्रालयले स्वास्थ्यमा कुनै पनि जटिलता देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।