माघीको रौनकसँगै थारू बस्तीमा ‘ढिक्री’ को सुगन्ध
काठमाडौँ, पुस ३० । माघी पर्व नजिकिएसँगै दाङका थारू बस्तीहरूमा उत्साह छाएको छ । यतिबेला थारू समुदायका गृहिणीहरूलाई आफ्नो महान् पर्वको मुख्य परिकार ‘ढिक्री’ बनाउन भ्याइनभ्याइ छ । तुलसीपुर उपमहानगरपालिका-१२ कचेलीकी जानकी चौधरी र वडा नं. १० बनकाउकी विझौनी थारूको दैनिकी अचेल चामलको पीठोसँगै बितिरहेको छ ।
थारू समुदायको पहिचान र संस्कृतिसँग जोडिएको ढिक्री केवल एउटा परिकार मात्र नभई यो पर्वको अभिन्न हिस्सा पनि हो। माघी नजिकिँदै जाँदा गाउँगाउँमा चामलको पीठो कुट्ने र ढिक्री बनाउनेहरूको विशेष चहलपहल देखिएको छ ।
दाङका थारू समुदायमा परम्परागत परिकार बनाउने चटारो; स्वास्थ्यवद्र्धक र सांस्कृतिक पहिचानको कडी बन्दै ढिक्री
ढिक्री बनाउने विधि जति सरल छ, यसको महत्त्व त्यति नै गहिरो छ। चामलको पीठोलाई तातो पानीमा मुछेर विभिन्न आकार दिइन्छ । माघीका लागि विशेषगरी लाम्चो आकारका ढिक्री बनाइने गरिन्छ । यसलाई पानीको बाफमा करिब आधा घण्टा उसिनेपछि तयार हुन्छ ।
“ढिक्री उसिनेर बनाइने भएकाले यसमा तेल वा चिनीको प्रयोग हुँदैन,” स्थानीय महिलाहरू भन्छन्, “यो स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ।” पौराणिक मान्यता अनुसार चिल्लो र चिनीमुक्त यो परिकार सेवन गर्दा मानिसको आयु बढ्ने विश्वास थारू समुदायमा रहिआएको छ ।
थारू समुदायमा चाडपर्व अनुसार ढिक्रीको आकार पनि फेरिने रोचक परम्परा छ । माघीमा लाम्चो आकारको, दसैँमा गोलो आकारको र तिहारमा चेप्टो र दियो जस्तो आकारको ढिक्री बनाइन्छ ।
माघीमा ढिक्रीलाई विशेषगरी सुङ्गुरको मासु, माछा र घोँगीसँग खाएर आनन्द लिने गरिन्छ। माघीको अवसरमा आफन्त र पाहुनालाई ढिक्री खुवाएर स्वागत गर्ने चलन छ। दाङका ग्रामीण भेगदेखि सहरसम्मका थारू बस्तीहरूमा अहिले ढिक्रीको बाफ र माघीको उल्लासले जाडोको चिसोलाई बिर्साएको छ।